सरकारलाई डा. गोविन्द केसीको प्रश्न– ‘अपराधीको ठाउँ कहाँ हो ? पार्टीमा हाे कि जेलमा ?’

 पुस २४, २०७९ आइतबार १६:२७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको छ । आज आइतवार महिला अधिकारकर्मीले माइतीघर मण्डलामा लालटिन बालेर साङ्केतिकरूपमा सरकार खोज्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा उनीहरूले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, महिला सुरक्षित हुने कहिले ? महिलाको बाँच्न पाउने अधिकार खोइ, के महिला एकल हुनु पाप हो ? लगायतका प्ले कार्ड बोकेर साङ्केतिक विरोध जनाएका थिए । 

विरोध कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको एक वर्ष बितिसक्दासमेत सरकारले अपराधीलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको बताउनुभयो । उहाँले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको आरोप लगाउनुभयो । उहाँले देशमा अपराधीको ठाउँ कहाँ हो भन्दै सरकारसँग प्रश्नसमेत गर्नुभयो । राजनीति अपराधीहरूले चलाउने ठाउँ भएको उहाँको टिप्पणी थियो । 

उहाँले भन्नुभयो, ‘कारबाही गर्ने भनेको एक वर्ष भइसक्यो तर अहिलेसम्म अनुसन्धानका लागि कठघरामा समेत लगिएको छैन । उल्टै टिकट दिएर सांसद बनाइएको छ । अपराधीलाई कारबाही गर्ने ठाउँमा सांसद बनाउने भनेपछि अपराधीको स्थान कहाँ हो ? पार्टीमा हो कि जेलमा हो ? अपहरण गरेर मार्ने देखेका मान्छेहरूले भन्दाभन्दै टिकट दिएर सांसद बनाइन्छ भने त्योभन्दा बढी राजनीतिको भ्रष्टीकरण र अपराधीकरण अरू के हुन्छ ? राजनीति शुद्धीकरण हुनुपर्छ ।’

विरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिबद्धताबाट बारम्बार पछि हटिरहेको बताउनुभयो । उहाँले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभयो । 

महिला अधिकारकर्मीले सरकारले निर्मला कुर्मीका अपराधीलाई कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । 

अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको समितिले आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता एवम् पूर्वबदशाह कुर्मीलाई पक्राउ गरेको छैन ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया