सर्भर बन्यो, राहदानी बनेन !

 पुस २५, २०७९ सोमबार ८:४३:७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

गएको एक हप्तादेखि राहदानी विभागको सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको छ । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण पनि सुरु भएको छ । आइतवार विभागमा पुग्दा राहदानी वितरणको काम भइरहेको थियो ।

उसै त थामिनसक्नुको भिड हुने राहदानी विभागमा एक हप्ता वितरण ठप्प हुँदा झन भिड नहुने कुरै भएन । एक हप्ता समस्या देखिएर समाधान भएकोमा खुसी देखिनुहुन्थ्यो विभागका प्रवक्ता दुरपदा सापकोटा ।

सापकोटा भन्नुहुन्छ, ‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समाधान भइसकेर शनिवारदेखि स्मुथ चलिराखेको छ, आज पनि हामीले कुनै समस्या फेस गरेनौँ, राहदानी वितरण पनि अब सुरु भयो, यसबारेमा छिट्टै सूचना निकालेर जानकारी गराउँछौं ।’

सापकोटाले भने झैँ आइतवार बेलुकी विभागले राहदानी विभागको सर्भरको समस्या नरहेको, समस्या समाधान भएको सूचना निकाल्यो । तर, सूचनाले सर्भर बनेको जानकारी पाए पनि राहदानी बनाउन लाइनमा लागेका नागरिकले राहदानी कहिले बन्ने भन्ने सूचना भने पाएनन् ।

यस्तै सूचनाको पर्खाइमा हुनुहुन्थ्यो झापाका ओम क्षेत्री । उहाँ पासपोर्ट बनाउन आएको नै दुई हप्ता भइसक्यो । उहाँ पहिला आएर फोटो खिचेर जानुभयो । तर, मोबाइलमा ‘रिजेक्टेड’ भनेर सन्देश आयो ।

त्यसपछि उहाँले फेरि आएर फोटो खिच्नुभयो । त्यस पटक पनि फेरि ‘रिजेक्टेड’ नै भनेर सन्देश आयो । दोस्रो पटक मात्र नभएर उहाँको तेस्रो पटक पनि ‘रिजेक्टेड’ भनेर सन्देश आयो ।

उहाँले विभागमा यस बारेमा बुझ्दा यो सबै सर्भरमा समस्या देखिएका कारण हो भन्ने जवाफ आयो । विभागले सर्भरमा समस्या भएका कारण कहिले फोटो उड्ने अनि अहिले हस्ताक्षर उड्ने समस्या हुने जानकारी उहाँलाई गरायो । अहिले उहाँ लाइनमा बस्दै गरेको भनेको अहिलेको समस्या के हो भनेर जान्नका लागि हो ।

क्षेत्री भन्नुहुन्छ, ‘अहिले लाइन बसेको भनेको किन ‘रिजेक्टेड’ भयो भनेर बुझ्नका लागि हो । यहाँबाट बुझ्यो उता पठाउँछ फोटो खिच्नका लागि । फेरि फोटो खिच्यो फेरि के उड्यो भन्छ । अनि फेरि फोटो खिच्ने । दुई हप्तादेखि यस्तै भइरहेको छ ।’

उहाँ तीन पटक अस्वीकृत भएको फर्म बोकेर लाइनमा उभिनु भएको थियो । लाइनमा उहाँ जस्ता अरु थुप्रै उस्तै समस्या लिएर बसेका थिए । विभागबाट उहाँले पाएको जानकारी अनुसार एसएमएस लिने, अनलाइन चेक गर्ने, फर्म भर्नेमा भने समस्या छ । अरुमा समस्या छैन ।

समस्या भएर लाइन लागिरहनु भएको क्षेत्री समस्या के मा हो भन्ने नै अलमलमा हुनुहुन्छ । उहाँ लाइनमा बस्दा करिब चार बज्न लागिसकेको थियो । कार्यालय समय चार बजेसम्म मात्र भएको हुँदा उहाँ आफ्नो समस्या समाधान हुनेमा आशावादी देखिनु भएन । उहाँ भन्नुहुन्छ, ‘अहिले चार बज्न लागिसक्यो के काम होला र ! अब फेरि भोलि आएर लाइन बस्नुपर्ला ।’

विदेशबाट एक महिना छुट्टीमा आउनु भएका क्षेत्रीको गुनासो छ, ‘तीन हप्ता त पासपोर्ट बनाउनै लाग्ने भयो । घरमा आफन्तीसँग एक दिन पनि समय बिताउन पाइएको छैन ।’

क्षेत्री जस्तै राहदानीको आशा गर्दै लाइनमा लाग्ने कैयौँ छन् । उनीहरुलाई राहदानी विभागले कहिले राहदानी दिन्छ र लिएर जाउँ भन्ने व्यग्र प्रतिक्षा छ । तर, उनीहरुको आशालाई यति सजिलै समाधान गर्न नसकिने बताउनुहुन्छ प्रवक्ता सापकोटा ।

उहाँका अनुसार अन्य दिनमा पनि भिड हुने गरेकोमा सर्भरका कारण झन समस्या थपिएको हो । अहिले समाधान भए पनि बिग्रिएका बेला सर्भरमा अन्य कुरामा भन्दा पनि रुजु गर्ने अधिकृतको दुरुस्त छ, छैन भन्ने कुरामा समस्या भएर पासपोर्ट छापिन सकेन र एसएमएस गरेको तीन दिनमा दिन नसकिएको हो । सर्भर डाउन हुँदा पनि अन्य काम पनि यथावत चलेका थिए ।

सर्भर बनाउने काम फ्रान्सको आइडिमियाले गरेको हो । आइडिमियासँग विभागले अनलाइन प्रणालीमा समस्या आउँदा बनाउनेदखि छाप्नेसम्मको सम्झौता गरेको छ । यसका लागि विभागले थप पैसा तिर्नु पर्दैन ।

सापकोटा भन्नुहुन्छ, ‘यो सबै सिस्टम उहाँहरुको कन्ट्रोलमा हुन्छ । बीचमा केही टेक्निकल इस्युहरु आयो भने समाधान गर्ने जिम्मेवारी पनि उहाँहरुकै हुन्छ । यसमा विभाग तथा नेपालका आइटी एक्सपर्टहरुको केही भूमिका हुँदैन ।’

उहाँका अनुसार यसका लागि टेक्निकल टिम विभागमा नै रहने गर्छ । र, केही समस्या आएमा यहीँको टोलीले समाधान गर्छ । तर, उनीहरुले सकेनन् भने अर्को उच्चस्तरीय टोली आएर समाधान गर्ने गर्छ । अहिले भएको सर्भरको समस्या यहाँको टोलीले समाधान गर्न नसकेकोले बेंगलोर र मलेसियाबाट जनशक्ति ल्याएर समाधान गरिएको हो ।

जिल्ला तथा इलाका प्रशासनबाट पनि सजिलै पासपोर्ट बनाउन सकिने हुँदा आफूलाई पायक पर्ने जिल्ला तथा इलाका प्रशासनमा जान विभागको आग्रह छ । र, यदि कसैलाई अत्यावश्यक भएका खण्डमा मात्र काठमाण्डौ आउन पनि विभागको अनुरोध छ ।

प्रवक्ता सापकोटा भन्नुहुन्छ, ‘अहिले हामीले अब आवश्यक नपरी आउनु भएन होला भनेर जनशक्ति बढाएर केही गर्न सकिन्छ कि भनेर हेरिरहेका छौँ । तर, त्यसले मात्र समाधान दिन्छ जस्तो मलाई लाग्दैन ।’

अहिले विभागले दैनिक दुई हजार राहदानी बाँड्ने र बाँकी दुई हजारको फर्म लिने गरेको छ । त्यस्तै अरु दुई हजार साथीकारुपमा आउने र कतै चाँडो भइहाल्छ कि भनेर आउने गर्दा झण्डै सात/आठ हजारको भिड विभागमा देखिने गर्छ ।

यसरी नागरिकले लिने अत्यावश्यक सेवामा समस्या देखिएपछि सरकारको पुस ११ गते बसेको बैठकले यस्ता ढिलासुस्ती र सास्ती हटाउन निर्देशनसमेत दिएको थियो । तर, सरकारले निर्देशन दिए पनि तत्काल क्षमता बढाएर समस्या समाधान गर्न नसकिने बरु जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट राहदानी वितरणलाई चुस्त बनाउन सके समस्या समाधान गर्न सकिने विभागको भनाइ छ ।

सापकोटाका अनुसार अहिलेको समस्याको समाधान भनेको जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट पासपोर्ट बाँड्नु नै हो । ‘हामी पनि क्षमता बढाउँला । हाम्रो क्षमता बढाएर दुई हजार बाट तीन हजार होला,’ उहाँ भन्नुहुन्छ, ‘तर ७७ जिल्ला प्रशासन र १७ इलाका प्रशासनको क्षमता बढाउने हो भने एकैपटक ९४ वटामा क्षमता बढ्छ । दैनिक सय मात्र बाँड्दा पनि कत्ति हुन्छ कत्ति । समस्या त त्यसै समाधान भइगो नि ।’

अन्तिम अपडेट: बैशाख ४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया