आगलागीका घाइते राउटे युवाको ज्यान गयो

 माघ ५, २०७९ बिहिबार १३:१७:१० | अमर सुनार
unn.prixa.net

फाइल तस्बिर

दैलेख – पोलिएर घाइते भएका ३८ वर्षीय राउटे नारायण शाहीको अस्पतालबाट फर्काइँदै गर्दा बिहीवार चितवनमा ज्यान गएको छ ।

युवा पुस १९ गते पोलिएर घाइते भएका राउटे युवाको ज्यान गएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

नारायण नगरपालिका–८ सालेतडामा बस्दै आएका ३८ वर्षीय नारायण शाही अगेनाको आगोले ओछ्यानमा ओढिरहेको कम्बल पोलिएर घाइते हुनुभएको थियो । 

उहाँलाई दैलेख र सुर्खेतमा भएको प्रारम्भिक उपचारले निको नभएपछि काठमाण्डौको ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।

१२ दिनसम्म राखेर सुधार नभएपछि ट्रमा सेन्टरले घर लैजान भनेको थियो । अस्पतालबाट निकालेर एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै चितवन पुग्दा उहाँको ज्यान गएको हो ।

हरेक दुई–तीन महिनामा ठाउँठाउँ बस्ती सार्दै हिड्ने नेपालको एउटा मात्र फिरन्ते लोपोन्मुख जातिमा सूचीकृत राउटे समुदायका ती युवाको आगोले जलेको १६ दिनपछि बिहीवार ज्यान गएको हो ।

चिसोका कारण न्यानो बनाउन बालेको आगोमा परी शाही जलेका थिए । दैलेखको नारायण नगरपालिका वडा नम्बर ९ को चुप्रा नजिक जङ्गलको राउटे बस्तीमा ४२ घरका १४३ जना सदस्य छन् ।

नारायणको मृत्युसँगै ११ सन्तान रहेका राउटेका महामुखिया महिनबहादुर शाहीको सबै सन्तानको अकालमै मृत्यु भएको छ ।

आगलागीको घटनाबाहेक राउटे समुदायमा पछिल्लो समय धेरै जसो सदस्यको अत्यधिक मदिरा सेवनका कारण अकालमै मृत्यु हुने दर बढी छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया