महोत्तरीमा हत्याको आरोपमा फरार अभियुक्त दुई वर्षपछि पक्राउ

 माघ ८, २०७९ आइतबार १७:११:० | सुजीत झा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

धनुषा – महोत्तरीको पिपरा गाउँपालिका–५ का एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा एक आरोपित दुई वर्षपछि पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा स्थानीय ७२ वर्षीय तेजनारायण झा रहेका छन् । हत्या गरिएका मुसाफिर झा र उनकी श्रीमती गीतादेवी २०७७ फागुन ११ गते घरबाटै अपहरणमा परेका थिए । व्यापक खोजतलास गर्ने क्रममा हत्या गरी बोरामा राखेर गाडेको अवस्थामा २०७७ चैत १२ गतेमा पिपरा गाउँपालिका–२ स्थित पिपराबाट मटिहानी जाने सडकमा गाडेको अवस्थामा कङ्काल फेला परेको थियो । घटना पश्चात अभियुक्त झा फरार भएका थिए । 

पक्राउ परेका झालाई नेपाल भारत सिमाना झापाको मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका झा भारतको गुवाहटी शहरमा पुजारीको काम गरी बेलाबेलामा काकडभिट्टा नाकाहुँदै घर आउजाउ गर्ने गरेका थिए । गोप्य सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज, काठमाण्डौको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

घटनामा कैलाश झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव र हरेन्द्र ठाकुर, तेज नारायण झा, तारा देवी झा, विकास भन्ने बब्लु कुमार झा समेतको संलग्नता रहेका आरोप छ । घटनामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परिसकेका थिए ।

तेजनारायण भने फरार थिए । पक्राउ परेकामध्ये महोत्तरी जिल्ला अदालतको आदेशमा तीनजना पुर्पक्षका लागि जेल चलान भइसकेका छन् भने ४ जना धरौटीमा छुटेका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया