जनकपुरका दुई युवाको अपहरणपछि हत्या भएको भन्दै विरोध प्रदर्शन

 माघ ९, २०७९ सोमबार १८:४:४२ | सुजीत झा
unn.prixa.net

धनुषा – जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या गरिएपछि मृतकका परिवारजन आन्दोलित भएका छन् । मृतकका परिवारजन र स्थानीयले जनकपुरधाम–९ पिडारी चोकमा प्रदर्शन गरी आज केही घण्टासम्म चक्काजाम गरेका हुन् ।

उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरबाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेका छन् । उनीहरुले जनकपुरधामका युवाद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरे पनि अहिले प्रहरीले झुठो बोलेर घटनालाई मोड्न थालेको आरोप लगाएका छन् ।

प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् पनि खोजतलासमा कुनै सहयोग नगरेको परिवारजनको आरोप छ । परिवारजनको आग्रह अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेको भए दुवैजनाको ज्यान जोगिने सम्भावना रहेको परिवारजनको भनाइ छ ।

उनीहरुले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजीनामाकोसमेत माग गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको हत्या गरिएको अवस्थामा आइतवार बिहान भारतको बिहार राज्यको परिहारको पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेको थियो ।

दुई हप्ताअघि दुबै जना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए । त्यहाँबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबै जनाको परिवारलाई अपरहरणकारीले गत सोमवारसम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेको थियो ।

अपहरणकारीले विष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो । तर, गत मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो ।

यता, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारी पश्चात् भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रीय पूर्वक लागेको जानकारी दिनुभयाे । उहाँले अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले प्रहरीलाई समयमा जानकारी नदिएको बताउनु भएकाे छ । 

घटनापश्चात प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले भारत र नेपालका गरी ९ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयाे । उनीहरुको नाम अहिले गोप्य राखिएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया