न्यूनतम मापदण्डमा गुल्मी अस्पताल प्रदेशमा तेस्रो

 माघ ९, २०७९ सोमबार १९:४९:१९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । आर्थिक वर्ष ०७९/०८० कोे न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनको आधारमा ८९ प्रतिशत अङ्क प्राप्त गरेको हो । 

लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालहरु मध्येबाट अस्पतालमा भइरहेका स्वास्थ्य सेवाका न्यूनतम सेवाका मापदण्डहरु पूरा गरेर प्रदेशमा तेस्रो स्थान हासिल गर्न सफल भएको गुल्मी अस्पतालका डा.उत्तम पच्याले जानकारी दिनु भएको छ । प्रदेशमा कपिलवस्तु अस्पताल पहिलो तथा बर्दिया अस्पताल दोस्रो भएका छन् ।

अस्पतालको न्यूनतम सेवा मापदण्ड सम्बन्धमा स्थलगत अनुगमनको क्रममा बर्दिया जिल्ला अस्पतालका डा.सुवास पाण्डे सहितको टोलीले अस्पतालले प्रवाह गर्ने सेवा सहित विभिन्न सूचकाङ्कलाई आधार मानी मुल्याङ्कन गरेको थियो । अनुगमन मूल्याङ्कनको क्रममा गुल्मी अस्पतालको स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्डहरु विगतमा भन्दा थप राम्रो भएको पाइएको डा पाण्डेले बताउनु भयो ।

कार्यक्रमा रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा नगरपालिकावाट गर्नुपर्ने सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको थियो ।

उहाँले गुल्मी अस्पताल गुल्मेलीहरुको आशाको केन्द्र र भरोसाको रुपमा रहेकोसमेत उल्लेख गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले गुल्मी अस्पतालले गरेको कामप्रति प्रशंसा व्यक्त गर्दै यसलाई थप स्तरोन्नती गर्ने काममा सबैको सहयोग महत्वपूर्ण रहने बताउनु भयो । 

नागरिकहरुलाई सेवाप्रवाहमा सहजता प्रदान गर्न र उनीहरुलाई थप विश्वस्त बनाउन पनि यो नतिजाले अझ ऊर्जा र प्रेरणा प्रदान गरेको गुल्मी अस्पतालका अध्यक्ष भरत पाण्डेले बताउनु भयो । गुल्मी अस्पतालमा अहिले हाडजोर्नी र गाइनोलोजिष्टका डाक्टरहरुद्वारा थप सेवा प्रवाह दिन सुरु गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया