बाग्मती प्रदेश सरकारले आज मन्त्रालय घटाउने

 माघ १०, २०७९ मंगलबार ११:५७:८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर  - बाग्मती प्रदेश सरकारले आज १४ मन्त्रालयलाई घटाएर ११ वटामा झार्ने भएकाे छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पहिले मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम गरिने बताउनु भएकाे हाे  । पहिले राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ८ वटा मन्त्रालयलाई बढाएर १४ वटा मन्त्रालय बनाउनु भएकाे थियाे । 

अब आजदेखि भने मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम सुरु गरिने जम्मकट्टेलले बताउनुभयाे । आज दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलासँग मन्त्रालय घटाउने प्रतिवेदन बुझेपछि आजै मन्त्रिपरिषद्को बैठक बसेर ११ वाट मन्त्रालय कायम गरिने जम्मकट्टेलले बताउनुभयाे । 

आज बेलुका पाँच बजे बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउने निर्णय गरिने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयाे । भोलि अथवा पर्सिमा मन्त्रिपरिषद् विस्तारको काम पनि गरिने उहाँले बताउनुभयाे । कुन दलले कति मन्त्रालय पाउने र कोको मन्त्री बन्ने भन्नेकुरा उहाँले खुलाउनु भएन । सांसद सङ्ख्याका हिसाबले एमालेले सबैभन्दा धेरै मन्त्रालय पाउने बुझिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गएकाे पुस २६ गते मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै बाग्मतीमा मन्त्रालय घटाउनको लागि त्यहीदिन मन्त्रालय निर्धारण गर्न समिति गठन गर्नु भएको थियो । गठित कार्यदलले प्रदेशमा रहेका मन्त्रालयको अध्ययन पश्चात् मन्त्रालय सङ्ख्या निर्धारण गर्दै मुख्यमन्त्री जम्मकट्टेललाई सुझावसहितको प्रतिवेदन आज बुझाउने र त्यही प्रतिवेदनलाई टेकेर मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा जम्मकट्टेलले पाँच सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर सङ्ख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिनु भएको थियो ।

सुरुमा ७ मन्त्रालय रहेको बाग्मती प्रदेशमा ८ वटा बनाइयो त्यसपछि मन्त्रालय सङ्ख्या बढाएर १४ पुर्याएपछि झ्यालझ्यालमा मन्त्रालय बनाइएको भन्दै आलाेचना भएकाे थियाे। २०७८ कात्तिक ११ गते नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेपछि गठबन्धनमा भागबण्डा मिलाउनकै लागि मन्त्रालयको सङ्ख्या ८ बाट बढाएर १४ पुर्याइएको थियो ।

११० सदस्यीय प्रदेश सभा सदस्य रहेको बाग्मतीमा यसपटक माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएसँगै ३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धव थापा विना विभागीय मन्त्री हुनुहुन्छ । अब मन्त्रालय घटाएर मन्त्रीहरु थप्ने काममा मुख्यमन्त्री लाग्नु भएको छ । 

अहिले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत गरी १३ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले सम्हाल्दै आउनु भएको छ । दुई हप्तादेखि मुख्यमन्त्रीले सम्हाल्दै आएका मन्त्रालयमा बोर्ड झुण्डिनुभन्दा बाहेक अरु काम हुन सकेको छैन । मन्त्रालयको वेबसाइटमा नाम राखिएको छ । तर, त्यसभन्दा बाहेक मन्त्रालयका कुनै काम अगाडि बढ्न सकेको छैन ।

गएकाे पुस २५ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि पुस २६ गते उहाँसहित र अन्य दुई मन्त्रीले शपथ ग्रहण गर्नु भएको थियो । दुई जना मन्त्री नियुक्त भए पनि एमालेका बाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मात्र मन्त्रालय तोकेर जिम्मेवारी पाउनु भएकाे छ। उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएर काम गरिरहनु भएको छ । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीको जिम्मेवारी लिनुभएका उद्धव थापा अहिलेसम्म विनाविभागीय मन्त्री नै हुनुहुन्छ । उहाँले कुनै पनि मन्त्रालयको जिम्मेवारी पाउनु भएको छैन । भौतिक मन्त्रालयकाे अपेक्षा राख्नुभएका थापाले अब कुन् मन्त्रालय पाउनुहुन्छ भन्ने टुङ्गो दुई दिनभित्र लाग्ने बताइएको छ ।

आर्थिक मामिला मन्त्रालय बाहेकको सबै मन्त्रालय मुख्यमन्त्रीकै जिम्मेवारीमा छ । मुख्यमन्त्री जम्मकट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएर काम गर्नुपर्ने बाध्यता भएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया