अतुल्य छ 'शून्यको मूल्य'

 माघ १०, २०७९ मंगलबार १२:३६:५२ | गोपाल गुरागाईं
unn.prixa.net

‍शून्यको मूल्य किताबको नाम हो । तर किताबको कुरा अङ्क दुई सम्बन्धी एउटा रमाइलो ठट्टाबाट सुरु गरौँ । ठट्टा सुरु हुन्छ कर्मचारी भर्नाको सूचनाबाट ।

कर्मचारी भर्ना गर्न एक कम्पनीले दर्खास्त आह्वान गर्‍यो । सूचनामा उम्मेदवारको अन्तर्वार्ता व्यवसायी आफैँले लिने जानकारी पनि दिइएको थियो । जागिर खान धेरैजनाका दर्खास्त परे ।

छानिएका केही निवेदक अन्तर्वार्ताका लागि बोलाइए । अन्तर्वार्ता लिन व्यवसायी तयार भएपछि पालैपालो उम्मेदवारलाई बोलाइयो । अन्तर्वार्ता दिने पहिलो उम्मेदवारलाई व्यवसायीले सोधे “दुई जोड दुई कति हुन्छ ?” पहिलो निवेदक पत्रकार रहेछ । उसले दुई र दुईको जोड बाइस हुन्छ भन्ने जवाफ दियो । व्यवसायी छक्क पर्‍यो । 

दोस्रो व्यक्तिलाई पनि त्यही प्रश्न सोधियो । उ परेछ इञ्जीनियर । जवाफमा उस्ले भन्यो “दुई जोड दुई ३ दशमलव ९९ र ४ दशमलव ०१ को बीचतिर कतै पर्छ ।” व्यवसायी थप छक्क पर्‍यो ।

तेस्रो उम्मेदवारलाई पनि व्यवसायीले त्यही प्रश्न तेर्स्याए । अन्तर्वार्तामा उपस्थित उम्मेदवार मानव शास्त्री परेछ । जवाफमा उस्ले भन्यो “यो गजबको विषय हो, तपाईँ र म यस विषयमा लामै छलफल गर्न सक्छौँ!” 

व्यवसायीलाई भाउन्न होला जस्तो भयो । अर्को उम्मेदवारलाई बोलाइयो । व्यवसायीले उस्लाई पनि दुई जोड दुई कति हुन्छ भन्ने त्यही प्रश्न तेर्स्याए । उम्मेदवार परेछ लेखापाल । उस्ले मुसुक्क हासेर जवाफ दिँदै भनेछ “तपाईँ कति बनाउन चाहनुहुन्छ ?” 

जवाफ सुनेर व्यवसायीको हड्डी समेत हासेछ । जागिर उसैले पायो भन्ने कुरा त तपाईँले अनुमान गरि नै सक्नुभयो । 

अङ्कको व्याख्या मानिसको पढाइ, पेसा र व्यवसाय अनुसार अलग अलग हुँदो रहेछ भन्ने बाहेक उपरोक्त किस्साको कुनै अर्थ छैन । त्यसो हो भने एउटा मेडिकल डाक्टरले अङ्कहरुलाई कसरी अर्थ्याउला ? कि अङ्क अर्थ्याउने तरिका कुनै पेसाभित्र पनि मानिस अनुसार फरक फरक हुन्छ ? किताबको नाम शून्यको मूल्य सुन्दा यो निबन्ध होला भन्ने लागेको थियो । शून्यको मूल्य कति हुँदो रहेछ भन्ने प्रश्न पनि मनमा उब्जेका थिए । अङ्कको अर्थ जोड, घटाउ, गुणा र भागमा लगाउन सानैदेखि हामीलाइ सिकाइयो, हामीले पनि त्यही नै सिक्यौँ । अनि जे जसरी सिक्यौँ, अहिलेसम्म अङ्कहरुलाई त्यसैगरि अर्थ्याइ रहेका छौँ । 

दुईको गणना गर्ने विधि विविध भए पनि शून्यको मूल्य गणना गर्ने एउटै विधि मात्र हामीलाई सिकाइएको छ । र, हाम्रो सिकाइमा शून्यको मूल्य कि त शून्य नै छ, कि त दश, सय, हजार र लाख गुनाले वृद्धि हुँदै कति हो कति धेरै बढ्दै जान्छ । एकदेखि नौ अङ्कसम्म कुनै पनि अङ्कको पछि एउटा शून्य लगायो भने त्यसको मूल्य दश गुना बढ्छ भने दुई शून्यले अङ्कको मूल्य सय गुना बढाइ दिन्छ । हामीले जानेको शून्य गणना गर्ने र त्यसको मूल्य नाप्ने एक मात्र विधि त्यही हो । 

हामीले बुझेको गणित अनुसार, अङ्कको पछाडि शून्य राख्दा दश गुणा, सय गुणा, हजार गुणा हुँदै मूल्य बढे पनि अङ्क लेख्नु अगाडि नै आउने शून्यको मूल्य त शून्य नै हुन्छ ।  एकदेखि नौ अङ्कसम्मै कुनै पनि अङ्कको अगाडि शून्य राखे त्यसले अङ्कको मानमा कति फरक पर्छ र ? एक एक नै रहन्छ, पाँच पाँचैँ हुन्छ । अनि नौ पनि नौ अङ्कमै सीमित रहन्छ । 

शून्यको मूल्य न पत्रकारले बनाएको बाइस जति हुन्छ । न शून्यमा टेकेर इञ्जिनीयरले नयाँ फर्मूला बनाउन सक्छ, न त शून्यको मूल्य मानवशास्त्रीले छलफल गर्ने गम्भीर र रमाइलो विषय नै हुन्छ । अङ्कपछि आउने शून्यको मूल्य हामी सबैलाइ थाहा छ, तर अङ्क सुरु हुनु अगाडि लेखिने शून्यको मूल्य थाहा पाउन त शून्यको मूल्य नामक किताब नै पढ्न पर्ने हुन्छ ।  

बजारमा आउने नयाँ किताब जे जस्तो भए पनि मलाई त्यस्ता किताब चाख्ने, मिठो र स्वादिलो लागे पढ्ने, नत्र थन्क्याउन बानी लागेको धेरै वर्ष भयो । बजारमा किताब आएको थाहा पाएपछि यो पनि चाख्न त पर्छ भन्ने लागेर शून्यको मूल्य घरमा आइसकेको थियो । हातमा सस्ता साहित्य मण्डलले प्रकाशन गरेका अर्को किताब थियो र दिमाग त्यसै किताबको वरपर घुमिरहेको थियो । शून्यको मूल्य घरमा ल्याएर पनि चाख्न भ्याएको थिएन । 

यसैबीच छोरीलाई भेट्न आएकी छोरीकी साथीले सुन्तलासित ल्याएर एउटा किताब मेरो हातमा दिँदै भनिन् “बाबा, यो किताब तपाईँले पढ्नुहुन्छ, मलाई मन परेर तपाईँलाई ल्याएकी ।” किताब त्यही शून्यको मूल्य थियो, जुन मैले दुई दिन अघि घरमा ल्याएर राखेको थिए । किताब मात्र हैन, उनले किताबका लेखक डा. नवराज केसीसित भेट्दाका केही कुरा पनि सुनाइन् र उनको भद्रताले प्रभावित भएको कुरा गरिन् ।     

किताबको पछिल्लो पानामा बुद्धिसागरले केही लेखेको देखेँ पनि अर्को पढिरहेको किताबले मनलाई अन्त जान दिएन । त्यसपछि त पढ्ने पालो शून्यको मूल्यकै हो ।  

कुनै पनि किताबको सुरुमा लेखिने प्राकथ्थन मलाई अन्तमा पढ्न मन लाग्छ । मेरो मनलाई यस्तो किन लाग्छ, मैलाई थाहा छैन । अरुलाई पनि त्यस्तै लाग्छ कि मलाई मात्रै लाग्छ, त्यो पनि सोधखोज गरेको छैन । तर, आफूलाई लागेको बानी अनुसार, प्राकथ्थन छाडेर शून्यको मूल्य सिधै बुधेकी “फुपुआमा” शीर्षकबाट पढ्न सुरु गरेँ । बेला बेला रोकिँदै, सोच्दै यो के लेखेको होला, कसरी यस्तो लेख्न सकेको होला भनेर गम्दै पुतली आमा शीर्षकसम्मै पढेँ । 

लेखकको रुपमा पहिल्यै नाम नचलेको र नसुनेको लेखकले लेखेका आभारका शब्दहरु पनि पढि सकेर प्राकथ्थन पढेपछि किताब सकियो । अनि बल्ल थाहा भयो अङ्क एक सुरु हुनुभन्दा अगाडि आउने शून्यको मूल्य कति व्यापक रहेछ । नेपालका ग्रामीण भेग, विशेष गरी कर्णालीका आमा, हजुरआमा, शिशु, बालबालिका र उनीहरुको परिवारका सदस्यले शून्यको मूल्य कसरी चुक्ता गर्नु परेको छ भन्ने कुरा किताबमा बगेका आँसु, रगत, पसिना र पीपले मात्र हैन, उनीहरुले व्यक्त गरेको साहस, सौर्य, त्याग, स्नेह र समर्पणका अनेक सन्दर्भले सप्रसङ्ग व्याख्या गरेका छन् । 

शून्यको मूल्य अथवा धरती । धरती अथवा आमा । आमा अथवा सृष्टि । आमा र धरती दुवैले आफ्नो ज्यानको जोखिम मोलेर, मृत्युलाई सहेर  सृष्टि गर्छन् । शून्यको मूल्यले धरती छुनु अघि शिशुले आमाको गर्भमा रहँदा बस्दा चुक्ता गर्नुपरेको मूल्यको कथा भन्छ । अनि यस किताबले गर्भमा आएको शिशुलाई आफ्नो गर्भमा राख्दा र पृथ्वीमा ल्याएपछि कर्णालीका आमाहरुले भोग्नु परेको भोक, शोक, हिंसा, अपमान र दु:खको मूल्य मापन गर्छ । लेखकले एक सुरु हुनु अघिको शून्यको मूल्य कर्णालीका आमा, हजुरआमा, परिवार र समुदायले के कसरी चुक्ता गरिरहेको छ भन्ने कुरा त्यहाँका आमा, हजुरआमा, स्वास्थ्य सेवा र आफ्नै अनुभवका कथाबाट भन्छन् । सर्सर्ती भन्दा शून्यको मूल्यको कथा यत्ति नै हो, तर किताबको गहिराइ र उचाइ शून्यको मूल्यको गहिराइभन्दा पनि अतुल्य छ । 

म समालोचक वा समीक्षक होइन, त्यसैले यो लेखाइ किताबको समालोचना वा समीक्षा होइन । किताब पढेपछि अथवा कुनै किताब मन परेपछि लेखिहाल्ने बानी पनि छैन । त्यसैले मैले किताबको बारेमा लेख्ने धेरै कुरा पनि छैन । यो लेखोटलाई मन परेका किताब पढ्ने लत बसेको एउटा पाठकको मनको लहड माने पनि हुन्छ । 

यो किताबले तपाईँ हामीले धेरैपल्ट देखेका, तर वास्ता नगरेका आमा र हजुरआमाहरुको कथा भन्छ । नदेखेका कुरा देखाउँछ, नसुनेका कुरा सुनाउँछ, धेरैले देखेका तर कसैले नलेखेका कथा भन्छ । नामविनाकी लाटी आमाले बोकेर ल्याएको छोराले किन बिरालोको आवाज निकाल्यो भन्ने कुरा, जन्मदै मरेको सन्तानलाई एउटी आमाले आफ्नाे दूध चुसाउन लिएको हठका सामु निरीह हुनुपर्ने डाक्टरको बाध्यताको कथा, बाढी र पहिराले बगाउँदा बगाउँदै बाँचेकी युवतीले भाइ र बुहारीले छाडेका उनीहरुका टुहुरा सन्तान बुधे र मीनामाथि बर्साएकाे  स्नेह र प्रेरणाको कथा, अनि लोग्नेले हिर्काउँदा एउटा आँखा गुमाएकी कर्कीनी बज्यै र गर्भावस्थामा आफ्नै लोग्नेले पेटमा लात बर्साउँदा मृत सन्तान जन्माउन बाध्य आमाले लोग्नेलाई दिएको क्षमा र माफीको कथा, बेग्ला बेग्लै कक्षामा पढ्ने दिदी र भाइले पालैपाले एउटै कापीमा होमवर्क गर्नुपरेको बाध्यताको कथा । किताबमा यस्ता धेरै कथा छन्, जस्ले पाठकको मन हल्लाउँछन् । 

शून्यको मूल्यले नेपाली ग्रामीण समाज अझै एक अङ्क सुरु हुनुभन्दा पहिलेको शून्यमा छ भन्न कुनै कसर छाडेको छैन । वैज्ञानिक अनुसन्धानका तथ्यहरु र आम मान्छेका कथाहरुमार्फत् किताबले पाठकको मनमा स्नेह र करुणा बर्साउँछ भने चिन्तनको अनन्त गहिराइबाट निस्केका शब्द, वाक्य र तिनले पैदा गर्ने करुणा र स्नेहले पाठकको मनलाई बेलाबेला विचलित पार्छन्, पटक पटक आह्लादित पार्छन् र अनेक पटक मनमा अनगिन्ती प्रश्नहरु र आक्रोश पैदा गर्छन् । 

किताबको भाषा, लेखन शैली र कथाहरुको कौतुकमयी संरचनाले पाठकको मनलाई एकैपल्ट चुर्लुम्मै डुबाएकाले होला, सुरुका दुई पाना किताब चाखेर अर्को किताबमा लहसिने बानी परेका मलाई यो किताबका शब्द, बाक्य र हरेक अनुच्छेदले अन्तसम्मै बाँधेर राखे । यसरी पाठकको मन बाँधेर राख्ने किताब नेपालमा कहिलेकाहीँ मात्र लेखिन्छन् र छापिन्छन् । अनि, यस्ता किताब पढ्दा नेपालमा यस्ता किताब पनि लेखिन्छन् र छापिन्छन् भनेर मन आनन्दित र आह्लादित हुन्छ ।  

किताबका कथाहरु सबै सत्य हुन् भन्ने कुरा त पढ्न थालेपछि जस्लाई पनि थाहा हुन्छ । त्यसैले होला, लेखकले यो किताबलाई सिर्जनात्मक गैर आख्यान भनेको । कथालाई सन्दर्भमा राखेर प्रस्तुत गरिएका वैज्ञानिक अनुसन्धानका तथ्यहरुले किताबलाई आफसे आफ गैर आख्यान प्रमाणित गर्छन् । तर, किताब गैर आख्यान भए पनि यो किताबमा गैर आख्यानमा नहुने एउटा अचम्मको तत्व छ । त्यो अचम्मको तत्व हो कथा भन्ने आख्यानिक शैली । 

किताबमा लेखक कविझै‌ं कल्पनाशील छन् । कथामा अचम्मको नाटकीयता छ । कौतुहल त किताबका पाना पानामा छ । अनि एउटा पात्रको कथा भन्दा भन्दै लेखक थाहै नपाइ आफ्नो बाल्यकालमा पुग्छन्, आफ्नो कथा भन्छन्, अनि थाहै नदिइ अर्को पात्रलाई कथामा ल्याएर अचम्मले जोडिदिन्छन् । कथा भन्दा भन्दै त्यो कथाले कुन मोड लिन्छ भन्ने कुरा पाठकले अचानक मोडिएपछि मात्रै थाहा पाउँछ । सामान्यतया यस्तो अचम्म सिद्धहस्त र अभ्यस्त उपन्यासकारहरुले मात्र गर्न सक्छन् । शून्यको मूल्यका कथाहरु सत्य, तथ्य र वास्तविकतामा आधारित भए पनि कथा भन्ने र बुन्ने तरिका औधि आख्यानिक छ । त्यसैले यो किताबलाई आख्यान र गैर आख्यानभन्दा अलि भिन्न आख्यानिक गैर आख्यान भनिएको भए के बिग्रिन्थ्यो र भन्ने कुरा मेरो मनमा धेरैपल्ट खेल्यो । आख्यान होस् कि गैर आख्यान आखिर दुवै सिर्जना नै हुन् । सिर्जनालाई सिर्जनशील भनिराख्न किन आवश्यक परेको होला भन्ने खुल्दुली म जस्ता अरु पाठकको मनमा पनि उब्जेको हुनुपर्छ ।      

उपचारका सिलसिलामा लेखकले भेटेका पात्र अरु धेरै डाक्टरले भेटेका छन् । तर नाम नभएका आमा, नाम नभएका तर समाजले भेडिनी कान्छी, बुधेकी फुपु र पुतली आमा जस्ता नाम दिएका आमाहरुलाई अरु डाक्टर, कवि, लेखक र पत्रकारले सम्भवत: देखेर पनि देखेनन् र चिनेर पनि चिनेनन् । किताबका लेखक तथा डाक्टरको कथाका पात्रहरुसितको सम्बन्धको गाढापन देख्दा पाठकलाई लाग्छ, लेखक अहिले पनि किताबका पात्रहरुसित नियमित सम्वाद र सम्पर्कमा छन् । 

अहिलेसम्म अरुले नदेखेका, नचिनेका र नलेखेका आमाहरुको अन्तरमनका दु:ख र सुख, मान र अपमान, साहस र सङ्घर्ष, स्नेह र क्षमालाई डा. नवराज केसीले देखेका मात्र हैन, अन्तरमनमा अनूभूत गरेका छन् । अन्तरमनको आँखा र संवेदनाको गहिराइबाट निस्केका शून्यको मूल्य किताबका कथामार्फत् डा. नवराज केसीले धेरै मानिसको आँखा खोलिदिएका छन् । 

अन्तिम अपडेट: माघ १४, २०७९

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया