जुम्लामा लगातार हिउँ परेपछि स्थानीय प्रशासनले चोकचोकमा दाउरा बाल्न सुरु गर्‍याे

 माघ ११, २०७९ बुधबार १७:५०:२ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा भारी हिमपात भएपछि स्थानीय प्रशासनले चोक चोकमा दाउरा बाल्न सुरु गरेको छ । जुम्लामा लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसोले जनजीवन प्रभावित भइरहेको छ ।

चिसोले दुई दिनदेखि हवाई यातायात बन्द भएको छ भने कर्णाली राजमार्ग पनि आज बिहानदेखि अबरुद्ध भएकाे छ । मङ्गलवारदेखि निरन्तर हिउँ परेपछि स्थानीय प्रशासनले मुख्य चोकहरुमा दाउरा बाल्ने अभियान सुरु गरेको हाे ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार जुम्लाकाे मुख्य बजार बालमन्दिर, जिल्ला प्रशासन कार्यालय अगाडि, कालेखोली र बसपार्कमा दाउरा बाल्न सुरु गरेको हो 

प्रमुख जिल्ला अधिकारी केशरीसहित नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, शशस्त्र प्रहरी त्रिपुरा गण ३३ नम्बरका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द, राष्ट्रिय अनुसन्धानका प्रहरी नायव उपरीक्षक राजकुमार न्यौपानेसहित नागरिक समाज गएर चोकचोकमा दाउरा बाल्न सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय आफैँले केही दाउरा व्यवस्थापन गरिदिएको कार्यालयले जानकारी दिएको छ । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतका अनुसार हिउँ परिरहेको समयमा स्थानीय प्रशासनले गरेको काम प्रेरणादायी भएकाले सबै चोकमा दाउरा व्यवस्थापन गरी न्यानो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

ज्येष्ठ नागरिकलाई न्यानो कम्बल  

हिउँ परेर चिसो बढेपछि जिल्ला प्रशासन कार्यालयले विपन्न नागरिकलाई न्यानो कम्बल वितरण गर्नसमेत सुरु गरेको छ । स्थानीय प्रशासनले पहिलो दिन ६ जनालाई कम्बल वितरण गरेको छ । करिब ३ सय विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल तथा केहीलाई ज्याकेटसमेत वितरण गरिने योजना रहेको प्रजिअ केशरीले जानकारी दिनुभयो ।

जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका सचिव तुलाराम न्यौपानेले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्न सुरु गरेकोमा धन्यवाद दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका अन्य ज्येष्ठ नागरिकहरुको नामावली प्रशासनलाई उपलब्ध गराइएको पनि बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया