कालीगण्डकी नदीको दुई वटा शिला शोभायात्रासहित भारतको अयोध्या पठाइयो (फोटोफिचर)

 माघ १२, २०७९ बिहिबार १४:१५:३२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–६ मा कालीगण्डकी नदीबाट पहिचान गरिएका दुई वटा शिला भारतको अयोध्या पठाइएको छ । हिन्दु धर्मावलम्बीहरुको प्रसिद्ध धार्मिकस्थल अयोध्याधाम लैजाने शिला आज (बिहीवार) हस्तान्तरण गरिएको हो । 

भारतको अयोध्याधाममा भगवान् राम र सीताको मूर्ति बनाउन कालीगण्डकी नदीको शिला हस्तान्तरण गरिएको बेनी नगरपालिकाले जनाएको छ । आज वसन्तपञ्चमी पर्वको अवसर पारेर धार्मिक विधि र परम्पराअनुसार शिलाको पूजापाठ गरी अयोध्या लैजानका लागि हस्तान्तरण गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । 

आज बिहान ८ बजेको शुभसाइतमा बेनी नगरपालिका–९, गलेश्वरस्थित गलेश्वरधाम मन्दिरमा शिलाको पूजापाठ, भजनकिर्तन गरी विभिन्न जातजाति र जनजातिहरुको झाँकी तथा भेषभूषासहित शिला जनकपुरधामको जानकी मन्दिरमा पठाइएको छ । शिलाको गलेश्वर मन्दिर परिसरमा गण्डकी प्रदेश सभा सदस्यद्वय हरिबहादुर भण्डारी, बिमला गौचन, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले पूजा गर्नुभएको थियो । 

शिला गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कम्प्युटर अधिकृत (प्रतिनिधि) बिक्रम रिजाललाई औपचारिकरुपमा हस्तान्तरण गरिएको छ भने प्रदेश सरकारले जानकी मन्दिरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । शिला हस्तान्तरणपछि गलेश्वरदेखि बेनीबजारसम्म शिलासहितको शोभायात्रा गरिएको थियो । क्रमशः १६ र २६ मेट्रिक टन तौल क्षमता भएका राम र सीता नामाकरण गरिएको दुइ वटा शिलालाई दुई छुट्टाछुट्टै ट्रकमा राखेर पठाइएको छ । 

मुस्ताङको दामोदरकुण्डबाट उत्पत्ति भइ प्रसिद्ध मुक्तिनाथ मन्दिरका १ सय ८ वटा धाराको जल मिसिएर म्याग्दीको धार्मिकस्थल गलेश्वर हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सीताको मूर्ति बनाउन लागिएको हो । यही माघ १ गते गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले क्षमापूजा र गङ्गापूजन गरेर जानकी मन्दिरका पीठाधीश रामतपश्वेर दास र अयोध्याका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गर्नुभएको थियो । 

यसअघि उच्चस्तरीय एक टोलीले अवलोकन गरेपश्चात् माघेसङ्क्रान्ति पर्वको अवसरमा शिलाको पूजाअर्चना गरिएको थियो । अयोध्याधाममा निर्माणाधीन राम मन्दिरको परिसरमा कालीगण्डकीको शिलालाई मुख्य मूर्ति कुँदेर राख्नका लागि शिला लगिएको छ । भूगर्भविद्, शिलाविद्, प्राविधिक तथा विज्ञसहितको टोलीले दुई हप्ताको समय लगाएर कालीगण्डकी नदीमा दुई वटा शिलाको पहिचान गरेको थियो । कालीगण्डकीबाट शिला भारतको अयोध्या पठाइएको हुँदा नदी किनारको छेउमा सङ्केतका रुपमा गण्डकी प्रदेश सरकारको सहयोगमा स्तम्भ बनाइने भएको छ । कालीगण्डकी नदीबाट पहिचान गरी उत्खनन् गरिएका ‘देवशिला’को नामकरण गरिएका दुइ वटा शिला लामो समयसम्म टिक्ने अनुमान गरिएको छ । 

गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राममन्दिर निर्माण समितिका सचिव पंकज, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका उप–प्राध्यापक नवराज न्यौपानेसहितको टोलीले कालीगण्डकी नदी किनारमा शिलाको पहिचान गरी नापजाँच गरेको थियो । कालीगण्डकी नदीबाट अयोध्यामा शिला पठाउनका लागि नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले समन्वय गर्नुभएको थियो । 

म्याग्दीको बेनीबाट पोखरा–जनकपुरहुँदै भारतको अयोध्या पठाउन लागिएको कालीगण्डकीको शिलाका कारण यस क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतको अयोध्यामा राम र सीताको मूर्ति बनाउन पठाइएका कालीगण्डकी नदीको जलप्रवाहबाट पवित्र बनेका दुई वटा शिला ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका छन् । ती शिलालाई सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारले जनकपुरको जानकी मन्दिरमार्फत भारत पठाउन अनुमति दिएका थिए ।     

प्रदेश सरकारले सम्झौता गरेको कम्पनीले क्रेनको सहायतामा हिजो (बुधवार) निकालेको शिलालाई गलेश्वर मन्दिर परिसरमा राखिएको थियो । यी शिला नेपाल सरकारले भारत सरकारलाई उपहारस्वरुप दिन लागेको हो । विश्वमै दुर्लभ र एकमात्र नदी कालीगण्डकीमा मात्रै पाइने शिला (शालिग्राम)लाई हिन्दु धर्मावलम्बीहरुले भगवान् विष्णुको अवतारको रुपमा मान्ने गर्दछन् । 

कालीगण्डकी नदीलाई हिन्दुहरुले कृष्णागण्डकी नदीको रुपमा समेत चिन्ने गर्छन् । कालीगण्डकी नदी किनारको बेनी–गलेश्वर क्षेत्रमा परापूर्वकालमा ऋषिमुनिहरु पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको किम्बदन्ती छ ।

 

 


 

अन्तिम अपडेट: चैत १६, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

1 Comments

  • Kristen

    Jan. 27, 2023, 11:05 a.m.

    Jati India lai diya ni India le kehi dinna Nepal lai 😬😬

  •  0 Reply

तपाईको प्रतिक्रिया