एक महिनामा मलेसिया जाने नेपालीको सङ्ख्या २० हजारभन्दा धेरै

 माघ १२, २०७९ बिहिबार १४:४८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको पुस महिनामा मलेसिया जाने नेपालीको सङ्ख्या मात्रै २० हजारभन्दा धेरै रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति गरी पुस महिनामा सबैभन्दा धेरै मलेसियाका लागि श्रम स्वीकृति जारी भएको छ । मलेसियाका लागि २० हजार ३ सय ३९ श्रम स्वीकृति जारी भएकोमा १६ हजार ७ सय ७५ त नयाँ अर्थात् पहिलो पटक श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ । 

मलेसियापछि कतार जाने नेपालीको सङ्ख्या धेरै छ । विभागका अनुसार पुस महिनामा मात्रै कतारका लागि १३ हजार ६६ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै साउदीका लागि ११ हजार ६ सय २७ जनाले, यूएईका लागि ९ हजार २७ जनाले र कुवेतका लागि ३ हजार ८ सय ८९ जनाले श्रम स्वीकृति लिएका छन् । 

गएको पुस महिनामा मात्रै ६५ हजारभन्दा धेरै नेपालीले रोजगारीका लागि विदेश जान श्रम स्वीकृति लिएका छन् । विभागको तथ्याङ्क अनुसार गएको पुस महिनामा नयाँ र व्यक्तिगत गरी ६५ हजार ४ सय ६४ जनाले श्रम स्वीकृति लिएका हुन् । नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या मात्रै ३८ हजार ८ सय ६४ रहेको छ । 

संस्थागत र व्यक्तिगत तवरबाट पुस महिनामा १२० देशका लागि श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया