पाकिस्तानी मुद्रा इतिहासकै कमजोर

 माघ १३, २०७९ शुक्रबार १३:३९:१ | एजेन्सी
unn.prixa.net

पाकिस्तानी मुद्रा इतिहासकै सबैभन्दा कमजोर भएको छ । आज एक अमेरिकी डलरको सटही दर दुई सय ६४ पाकिस्तानी रुपैयाँ पुगेको र यो अहिलेसम्मकै कमजोर रहेको बीबीसी हिन्दीले जनाएको छ ।

हिजोको तुलनामा आज पाकिस्तानी मुद्राको मूल्यमा ३ दशमलव ३६ प्रतिशतले गिरावट आएको हो ।

बढ्दो महँगी र वैदेशिक मुद्राको सञ्चितिमा कमी भएकाले अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा कमजोर बनेको हो ।

विदेशी मुद्राको सञ्चिति कम भएपछि र डलर बलियो हुन थालेपछि एक्सचेन्ज कम्पनीज एसोसियशन अफ पाकिस्तानले डलरको भाउ स्थिर राख्ने प्रयास गरेको थियो ।

सरकारले पनि बजारमा देखिएको अराजकता नियन्त्रणका लागि भन्दै अन्तरबैंक दर स्थिर राखेको थियो ।

एक्सचेन्ज कम्पनीले कालोबजारी, अन्तरबैंक र खुलाबजारमा देखिएको भाउको अन्तर अन्त्य गर्ने आफूहरूको उद्देश्य भएको जनाएका थिए ।

पाकिस्तानी अर्थमन्त्री इसहाक डारले नियुक्ति लगत्तै डलरको मूल्य दुई सय रुपैयाँभन्दा नबढ्ने दाबी गर्नुभएको थियो । तर निरन्तर ओह्रालो लाग्दै पाकिस्तानी मुद्रा इतिहासकै कमजोर बनेको बीबीसी हिन्दीको खबरमा उल्लेख छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया