बाग्मती प्रदेश : मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना, नाम र फोटो अर्कैकाे

 माघ १५, २०७९ आइतबार ९:११:१९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशका केही मन्त्रालयका वेबसाइटमा मन्त्री एक जना छन् तर, नाम र फोटो अर्कैको राखिएको पाइएको छ । मन्त्रालयकाे आधिकारिक वेबसाइट हेर्दा यस्तो फेला परेको हो । 

अझ प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आधिकारिक वेबसाइटमा दुई जनालाई मन्त्री बनाएर राखिएको छ । एक जना मन्त्री सचिवभन्दा माथि अहिलेका मन्त्रीलाई तहगत रुपमा सचिवभन्दा मुनि राखिएको छ । 

कृषि मन्त्रालयको वेबसाइटमा पनि मन्त्रीका रुपमा दुई जनाको फोटो राखिएको छ । अझै पनि मन्त्रीका रुपमा मुख्यमन्त्री तथा मन्त्री भनेर शालिकराम जम्मकट्टेलको नाम छ र फोटो पनि उहाँकै राखिएको छ । मन्त्रालयका सचिव डाक्टर शरण पाण्डेको फोटोभन्दा माथि मुख्यमन्त्री तथा मन्त्री समेत भनेर जम्मकट्टेलको फोटो राखिएको छ ।

वेबसाइटमा सचिवको भन्दा मुनि प्रवक्ताको तस्बिर र नाम राखिँदै आएको ठाउँमा फेरि मन्त्री केशवप्रसाद पोख्रेलको नाम र फोटो राखिएको छ । एउटै मन्त्रालयमा दुई जना मन्त्री भनेर फोटो राखिएको वेबसाइट भिजिट गर्नेहरु बताउँछन् । 

मन्त्रीको फोटो परिवर्तन गर्नका लागि लगाएको तर, त्रुटि भएको पाइएमा तत्काल सच्याउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले बताउनुभयो । बाग्मती प्रदेशमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिइसकिएको छ तर, त्यस मन्त्रालयको मन्त्रीमा शालिकराम जम्मकट्टेलको नाम र फोटो राखिएको छ । यही माघ १० को प्रदेशको मन्त्रिपरिषद्को बैठकले उद्योग, पर्यटन र सहकारी मन्त्रालयलाई एउटै मन्त्रालय बनाएको थियाे । तर, पहिलेकै मन्त्रालय राखिएको छ र मन्त्रीका रुपमा मुख्यमन्त्रीको फोटो राखिएको छ । 

यसैगरी बाग्मती प्रदेशमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अरु मन्त्रालयमा गाभिइसकिएको छ । नभएको मन्त्रालयका मन्त्रीका रुपमा मुख्यमन्त्री तथा मन्त्रीका रुपमा जम्मकट्टेलको नाम र फोटो राखिएको छ।  यसैगरी प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ । तर, यो मन्त्रालय अझै वेबसाइटमा भने देखिन्छ । यसको मन्त्रीका रुपमा पनि जम्मकट्टेलको नाम र फोटो राखिएको छ ।

यसैगरी प्रदेशमा संस्कृति तथा पर्यटन मन्त्रालयमा अरु मन्त्रालयहरु गाभिएका छन् । तर, यस मन्त्रालयको वेबसाइटमा मन्त्री डम्बर तामाङको फोटोकोमुनि भने पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय लेखिएको छ । वेबसाइटकै माथि पुरानै नाम छ भने तल भने अहिले गाभिएका मन्त्रालयसहितको नाम लेखिएको छ ।  

प्रदेशका अरु मन्त्रालयहरु मात्र होइन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा पनि पुरानै १४ वटा मन्त्रालयहरुको नाम र त्यस मन्त्रालयहरुको लिङ्क राखिएको छ । मुख्यमन्त्री कार्यालयले नै माघ १० गतेको मन्त्रिपरिषद् बैठकमा १४ वटा मन्त्रालयलाई घटाएर ११ वटामा कायम गरेकाे घाेषणा गरेकाे थियाे । तर, मुख्यमन्त्री कार्यालयको वेबसाइटमा पुरानै मन्त्रालयहरुको नामावली राखिएको छ । 

मन्त्रालयका विषयमा आधिकारिक जानकारी लिनुपरे वेबसाइटमा गएर हेरिन्छ । तर, मन्त्रालय गाभिएकाे र मन्त्री परिवर्तन भएको पाँच दिन बितिसक्दा पनि पहिलेकै मन्त्रीकाे नाम र फाेटाे राख्नु, दुई जना मन्त्रीकाे नाम एउटा मन्त्रालयमा राख्नु लगायत गलत सूचना वेबसाइटमा देखिनु कर्मचारीकाे लापरबाही भएकाे मन्त्रालयको वेबसाइट हेर्नेहरु बताउँछन्। 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया