प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको ८ दिन बितिसक्दा पनि म...
चैत १३, २०७९ सोमबार
काठमाण्डाै - उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग चक्रपथ विस्तारलाई अघि बढाउन आग्रह गर्नुभएकाे छ । मन्त्रालयमा राजदूत साेङसँग आज भएकाे शिष्टाचार भेटवार्तामा मन्त्री श्रेष्ठले चक्रपथको कलङ्की–चाबहिल सडक खण्ड विस्तारकाे कामलाई शीघ्र रुपमा अगाडि बढाउन आग्रह गर्नुभएकाे हाे ।
चिनियाँ पक्षले भने आयोजनास्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको छ । उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना आदानप्रदान भएकाे छ । उपप्रधानमन्त्री श्रेष्ठले यस कार्यकालमा दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गर्नुभयाे । भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो ।
यस्तै, चीन सरकारको सहयोगबाट यस मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत कुराकानी भएको सचिव शर्माले उल्लेख गर्नुभयो । चिनियाँ पक्षसँग सहयोगलाई अझै विस्तार गर्ने, भइरहेका परियोजना अगाडि बढाउने र सहयोग गर्ने तथा केही आयोजनाको अध्ययन अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।
यस्तै, अरनिको राजमार्गको मर्मत र विस्तारमा समेत थप सहयोग उपलब्ध गराउने विषयमा समेत कुराकानी भएको थियो । टोखा–छहरे सुरुङमार्ग, सङ्खुवासभा–किमाथाङ्का सडक खण्डका अलावा सीमानाका खुलाउने विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो ।
भेटमा मन्त्री श्रेष्ठले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक स्तरोन्नतिका विषयमा पनि चासो व्यक्त गर्नुभएको थियो ।