पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

 माघ १७, २०७९ मंगलबार २०:२२:२२ | रासस
unn.prixa.net

पाल्पा – पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले त्यो प्राप्त गर्न सक्दछ । यो थाहा भए पनि पुस्तक पढ्ने चासो भने थोरैले मात्र लिएको पाइन्छ ।

अहिले मानिसहरू फुर्सदको समयमा गफ गर्ने, सामाजिक सञ्जालमा व्यस्त रहने गर्दछन् तर पुस्तक पढ्ने समयको व्यवस्थापन भने कमै मात्रले गर्दछन् । यसरी मानिसमा पुस्तक पढ्ने बानीमा कमी आएको देखिएको छ । हिजोआज त झन् सूचना प्रविधिको विकासका कारण पुस्तक किन्ने मानिसको सङ्ख्या पनि घट्दै गएको देखिन्छ ।

त्यसैले सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास गरी ज्ञान बढाउन सजिलो होस् भन्ने उद्देश्यले पाल्पाको सदरमुकाम तानसेनभन्दा बाहिर रामपुरमा सञ्चालनमा ल्याइएको छ, विद्यामन्दिर सार्वजनिक पुस्तकालय । सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ विसं २०७५ मा स्थापना भएको कालीगण्डकी फाउन्डेशन नेपालद्वारा विद्यामन्दिर सार्वजनिक पुस्तकालय स्थापना गरेपछि हिजोआज फुर्सदको समय निकालेर पुस्तक पढ्न जाने पाठकहरू बढ्दै गएका छन् ।   

दिउँसो फुर्सदको समय पुस्तकालयमा आएर बेला–बेलामा पढ्ने गरेको समीक्षा पोखरेल बताउनुहुन्छ । शहीद बहुमुखी क्याम्पस रामपुरमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत उहाँ आफ्नो औपचारिक शिक्षासँग सम्बन्धित मात्र नभइ जीवनोपयोगी हुने ज्ञानवर्द्धक पाठ्यपुस्तक पुस्तकालयमा बसेर पढ्ने गर्नुहुन्छ । 

‘यहाँ हामीले खोजेका सबैजसो पुस्तकहरू उपलब्ध छन्, निःशुल्क पढ्ने व्यवस्था छ, समसामयिक पुस्तकहरू पाइने हुँदा बजारमा पुस्तक खोज्न धाउनु परेन, विद्यार्थीलाई पाठ्यपुस्तकसँग सम्बन्धित पुस्तक उपलब्ध भएपछि धेरै सजिलो भएको छ’, उहाँले भन्नुभयो । 

समयानुकूल प्रकाशित पुस्तक उपलब्ध हुने भएपछि मानिसहरू पुस्तक किन्ने साटो यहीँ आएर पढ्ने गर्दछन् । शहीद बहुमुखी क्याम्पस स्नातक तह दोस्रो वर्षमा अध्ययनरत केशरी ढेँगा यहाँ पुस्तकालय खुलेपछि नयाँ र ज्ञानवर्द्धक, अति लोपोन्मुख खालका पुस्तकहरू पढ्ने अवसर मिलेकामा खुसी हुनुहुन्छ ।   

ल्याब टेक्निसियनको अध्ययन पूरा गर्नुभएकी सपना थापा सबै क्षेत्रको पुस्तक एकै ठाउँमा पढ्न पाउँदा पाठकलाई अध्ययनमा रुचि बढ्दै गएको बताउनुहुन्छ । यस पुस्तकालयमा पहिलो पटक अवलोकन गर्न आउनुभएकी उहाँ सदरमुकामबाहिर आफूले सोचेभन्दा धेरै राम्रो र व्यवस्थित पुस्तकालय पाएको अनुभव सुनाउनुभयो । 

पुस्तकालयमा विभिन्न विषयका झन्डै छ हजार पुस्तक राखिएको छ । किसानदेखि उद्योगपतिसम्मका तथा चार वेद, अठार पुराणका पुस्तक यहाँ उपलब्ध छन् । संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाको डिजिटल गीता (४७२ पृष्ठ) पुस्तक पनि यहाँ उपलब्ध छ । कृषिजन्य, धार्मिक, दर्शनशास्त्र, इतिहास, विभिन्न राजनीति विवेचना र इतिहास, नेपाली साहित्य, कुटनीतिक सम्बन्धका साथै नर्सरी देखि १२ कक्षासम्मका सामुदायिक र संस्थागत विद्यालयमा पढाइ हुने पुस्तक, अङ्ग्रेजी र नेपाली शब्दकोश, बालबालिकालाई लक्षित बालकथा, स्वास्थ्यसम्बन्धी, घरेलु उद्यमी, सामान्य ज्ञान लगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित पुस्तकहरू यस पुस्तकालयमा अध्ययन गर्न पाइन्छ ।   

नेपाली राजनीतिको पञ्चायत स्मारिका समेतका प्रकाशनहरू पनि यहाँ संरक्षण गरी राखिएको छ । यस पुस्तकमा विसं २०१७ देखि २०४२ सम्मका सरकारी योजनाका विवरण समेटिएको छ । यी पाठ्यसामग्रीहरू दलविहीन पञ्चायती प्रजातन्त्र रजत जयन्ती महोत्सव केन्द्रीय समन्वय समितिद्वारा प्रकाशन गरिएको हो । धार्मिक पुस्तकतर्फ श्री शिव महापुराण, श्रीमद्देवी भागवत महापुराण, ब्रह्मपुराणम्, रामायण, श्री स्वस्थानी व्रतकथा, असली आठकाण्ड रामायण, श्रीराम चरित्रमानस, श्री विष्णु महापुराण लगायतका छन् ।   

सबैले अध्ययन गर्न पाउने गरी पुस्तक पढ्ने व्यवस्थाको थालनीले ग्रामीण भेगमा पछिल्लो समय पुस्तकालयको प्रभाव बढेको कालीगण्डकी फाउन्डेशन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारी बताउनुहुन्छ । लोपोन्मुख अवस्थामा रहेका पुस्तकहरू सङ्कलन गरी राखिएकाले यसप्रति धेरैको आकर्षण बढ्दै गएको हुँदा ई–लाइब्रेरी स्थापना गर्ने संस्थाको योजना रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । 

दैनिक बिहान १० देखि बेलुकी ४ बजेसम्म एक जना कर्मचारी व्यवस्थापन गरी पुस्तकालय सञ्चालन गरिएको छ । पुस्तकालयमा बसेर अध्ययन गर्न नभ्याउने पाठकले नाम दर्ता गराएर एक हप्तासम्म घरमै लगेर पुस्तक पढ्ने व्यवस्था छ । त्यस कारण पनि विभिन्न सङ्घसंस्था, कार्यालय, पेसा, व्यवसायमा आबद्ध व्यक्तिले घरमा फुर्सदको समय निकालेर पुस्तक लगेर पढ्ने गरेको पाइएको छ । दुई वर्षको अवधिमा झन्डै तीन हजार जनाभन्दा धेरैले पुस्तकालयको अवलोकन गरेको पाइएको छ । विद्यालय बिदाको समयमा एक दिनमा एक सय जनभन्दा धेरै विद्यार्थी पुस्तकालयमा आउने गरेका कर्मचारी धनमाया खरु बताउनुहुन्छ । विद्यार्थीले मात्र नभइ अन्य क्षेत्रमा आबद्ध, विभिन्न उमेर समूहका व्यक्तिको पुस्तक अध्ययनमा रुचि बढ्दै गएको छ । 

बढ्दो सूचना सञ्चार प्रविधिको प्रयोगले पुस्तक पढ्ने, खोजी गर्ने बानी पाठकमा कम हुँदै गएकाले पुस्तक नियमित पढ्ने बानी बसाल्न पुस्तकालय सञ्चालनमा ल्याइएको फाउन्डेशनका सल्लाहकार सन्दीप राना बताउनुहुन्छ । ‘पुस्तकालयमा कृषि कर्म गर्ने प्रविधि, उद्यमी कसरी बन्ने, राजनीतिक–सामाजिक क्षेत्रमा नेतृत्व देखिका मानिसको जीवनमा दैनिक उपयोगी हुने खालका पुस्तकहरू पढ्ने व्यवस्था छ’, उहाँले भन्नुभयो, ‘स्नातकोत्तर तहसम्मका विद्यार्थीले सोधपत्र तयार पार्न सक्ने खालका पुस्तकहरू हामीले उपलब्ध गराएका छौँ ।’   

यस पुस्तकालयलाई नेपालकै नमुना बनाउने सोचका साथ निकट भविष्यमा हरियाली बगैँचा, फूलबारी, खुला चउरमा प्रकृतिको रमणीय वातावरणमा बसेर पढ्न मिल्ने खालको संरचना बनाउने योजना रहेको उहाँ बताउनुहुन्छ । अन्तर्राष्ट्रिय विपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका रानाले अहिले भाडाको घरमा पुस्तकालय सञ्चालन गरे पनि यसलाई स्तरोन्नति गरी समयानुकूलको प्रविधिको उच्चतम प्रयोग गर्दै पाठकमा नयाँ आयाम ल्याउने सोचका साथ पुस्तक पढ्न स्थानीयस्तरका मात्र नभइ बाहिरी जिल्लाबाट पाठक भित्रिने वातावरण तयार पार्ने बताउनुभएको छ । 

‘पाठकलाई मध्यनजर गर्दै चिया–खाजाका लागि क्याफे खोल्ने, क्याफेमा बसेर पढ्न मिल्ने वातावरण बनाउने, पुस्तक पढ्न आउने वातावरण राम्रो बनाउन सकियो भने पाठकको आकर्षण बढ्नेछ’, रानाले भन्नुभयो । नेपालका ७७ वटै जिल्लामा खुला अवधारणाका रूपमा सार्वजनिक पुस्तकालय स्थापना गर्ने प्रेरणा दिनका लागि सार्वजनिक पुस्तकालयको अवधारणा ल्याइएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया