कल सेन्टरको नाम परिवर्तन गरी 'श्रमाधान' राखियो, श्रमिकको समस्या समाधानमा टाइम कार्ड लागू गर्ने

 माघ १७, २०७९ मंगलबार १८:१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको समस्या सुन्ने कल सेन्टरको नाम परिवर्तन गरी श्रमाधान राखेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै कल सेन्टरको नाम परिवर्तन गर्दै श्रमाधान राख्नुभएको हो । 

मन्त्री अर्यालले श्रमाधानमार्फत श्रमिकको समस्या सुन्ने र प्रभावकारीरूपमा समाधान गर्ने संयन्त्रको विकास गर्दै कल सेन्टरको नाम परिवर्तन गरेको बताउनुभयो । मङ्गलवारदेखि नै श्रमाधानमा २४ घण्टा नै फोन गरेर श्रमिकले आफ्ना समस्या राख्न सक्ने छन् । श्रमिकले राखेको समस्या समाधान गर्नका लागि छ महिनाभित्र टाइम कार्डसमेत लागू गर्ने मन्त्री अर्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘श्रमिकले राख्नुभएको समस्याको आधारमा समाधानमा कति समय लाग्ने भन्ने निर्धारण गरिन्छ र तोकिएको समयमा समस्या समाधान गर्न सकिएन भने के कारणले सकिएन भनेर कारण पनि दिइने छ ।’ 

यसका साथै मन्त्रालयले श्रमाधानको आफ्नो छुट्टै मोबाइल एपसमेत ल्याउने भएको छ । मोबाइल एपमार्फत नै श्रमिकले आफ्नो समस्या राख्न सक्नेछन् । मोबाइल एपबाट राखेको समस्या समाधानमा पनि टाइम कार्ड लागू हुने छ । श्रमाधानमा ११४१ वा ९८०१८०००१३ नम्बरमा सम्पर्क गर्न सकिन्छ भने ९८०१८०००१३ नम्बरमा भाइबर र इमोसमेत उपलब्ध छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया