बैंकलाई गभर्नरकाे आग्रह– ‘याे व्यवसायीलाई कस्ने बेला हाेइन, एक महिना जति हेर्दिनुहाेस् न !’

 माघ १८, २०७९ बुधबार २०:२९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीलाई नकस्न बैंकसँग आग्रह गर्नुभएको छ ।

बुधवार आर्थिक मिडिया सञ्चालक सङ्घले काठमाण्डाैमा आयाेजना गरेकाे 'अर्थतन्त्रका चुनौती र समाधानका उपाय' विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले व्यवसायीलाई परिरहेको अप्ठेराे बुझेर व्यवसायीलाई कस्ने नीति नलिन बैंकसँग आग्रह गर्नुभएको हो । बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासाे गर्न पनि उहाँले सेवाग्राहीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरूले व्यवसायीलाई कस्ने बेला होइन यो, एक महिना जति हेर्दिनुहोस् न, एउटा क्वार्टरमा ब्याज नतिर्दैमा तुरुन्तै अक्शन गर्नुपर्छ भन्ने छैन, हाम्रो नियमले पनि त्यो बताउँदैन । अवस्थाअनुसार रिकभरीका काम गर्नुस् भनेका छौँ । बैंकिङ सिस्टममा नर्मली त्यो हुँदैन तर पनि अफ्ठ्यारो बेलामा त्यो गर्नुपर्छ । त्योसँगै अहिले कन्जुमर प्रोटेक्शनको सन्दर्भमा हामीसँग डेडिकेटेट डिभिजन छ, त्यसले विभिन्न किसिमका समस्याहरू सुनुवाइ गर्छ ।’ 

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेको भए पनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने बताउनुभयो । उहाँले बजारमा तरलतामा सहजता आउन लागेको बताउनुभयो । तरलतामा सहजता आउने भएपछि बैंकको समस्या पनि बिस्तारै कम हुँदै जाने भएकाले व्यवसायीलाई नकस्न उहाँकाे आग्रह छ । 

गभर्नर अधिकारीले दुई महिनाको अन्तरालमा अन्तरबैंकिङ ब्याजदर ८ प्रतिशतबाट ४ दशमलव १० प्रतिशतमा झरेको बताउनुभयो । उहाँले अहिले देशमा एक खाले मन्दीको अवस्था सिर्जना भएकाले बजारमा माग घटेको पनि उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको सुधारका लागि संरचनागत सुधार गर्नुपर्ने औँल्याउनुभयो । उहाँले उपयोग तथा राजस्व बढी आयातमा निर्भर भएको भन्दै संरचनागतरूपमा यस्तो अवस्थालाई कम गर्दै जानुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रको समस्या समाधान गर्न दीर्घकालीन योजना बनाएर जानुपर्ने देखिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • भागबत खड्का

    Feb. 3, 2023, 3:18 p.m.

    खैत मैले ग्लोबल IME बैक चाबहिल शाखा बाट 10 लाख OD लाेन र 4 कराेड बैक ग्यारेन्टि लिन लागेको 4 मैना भयाे बैक धाएकाे अाझ सम्म पाईयन ।डकुमेन्ट पनि सपै दियकाे छ डकुमेन्ट दिदा दिदा हैरान भई सकाे ।हेड अफिसबाट अप्रुबल अायकाे छैन मात्र छ जबाफ ।तर खै

  •  0 Reply

तपाईको प्रतिक्रिया