दुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुभएका मुकेश यादवलाई देख्नुभयो कि ?

 माघ १९, २०७९ बिहिबार १७:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिराहाको लहान नगरपालिका-२१ का मुकेशकुमार यादव विगत दुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुहुन्छ । वैदेशिक राेजगारीकाे लागि पाँच वर्ष पहिले मलेसिया जानुभएका मुकेश गएको दुई वर्षदेखि परिवार, साथीभाइ कसैको पनि सम्पर्कमा आउनुभएको छैन ।

२४ वर्षीय मुकेश मलेसियाको जोहरवारुमा रहेको स्थीन पावर रुट कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । तर दुईवर्षदेखि उहाँ हराउनुभएको छ । परिवारले कम्पनीमा सम्पर्क गरेर बुझ्दा दुई वर्ष अगाडि नै काम छाडेर गएको भन्ने बुझिएको मुकेशका दाइ सुमेश्वर यादवले बताउनुभयो ।

यस्तै नगरपालिकाबाट खोजिकार्यको लागि सिफारिस बनाएर मलेसियामा रहेको नेपाली दूतावासमा पनि पठाएको तर दूतावासले खोजीको लागि कुनै प्रयास नगरेको सुमेश्वरको भनाइ छ ।

मुकेशका छिमेकी दाइ सुमेश्वरका अनुसार मुकेशले मलेसियामा गएको तीन वर्षसम्म घरमा कहिलेकाहीँ पैसा पठाउनुहुन्थ्यो । सम्पर्क पनि हुन्थ्यो । तर विगत दुई वर्षदेखि मुकेशको फोन नम्बरमा पनि सम्पर्क हुँदैन । म्यासेन्जरमा पनि भेटिनुहुन्न ।

यदि तपाईंले मलेसियामा कतै मुकेशलाई देख्नुभयो भने नेपाली दूतावासमा खबर गरिदिनुहाेला । यस्तै सुमेश्वरको मोबाइल नम्बर ९८२३७६८७३० मा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया