आकर्षक तलबकाे लाेभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घन्टासम्म काममा लगाइयाे

 माघ २०, २०७९ शुक्रबार ७:७:४१ | रासस
unn.prixa.net

काठमाण्डाै – आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ । 

ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो । 

ब्युरोमा प्राप्त विवरणअनुसार ती व्यक्तिहरूले सुरुमा कुवेतमा रहेको रेस्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्चुगल र अमेरिकाका रेस्टुरेन्टमा समेत पठाइदिने लोभ देखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण भिसामा यूएई हुँदै कुवेत पुर्‍याएका थिए ।

कुवेत पुगेपछि उनलाई अन्य एजेन्टमार्फत् एक हजार ३०० दिनारमा बिक्री गरेको खुलेको छ । त्यसपछि उनलाई दैनिक १८ घण्टासम्म श्रम शोषण गरी मानसिक र शारीरिक यातना दिएको महिलाले दिएको जाहेरीमा उल्लेख छ । 

आफूले यातना पाएको भनी उनले दिएको सूचनाका आधारमा परिवारले ब्युरोमा उजुरी दिएका थिए । ब्युरोले कुवेतमा रहेकाे नेपाली राजदूतावाससँगको समन्वयमा उनलाई यही माघ ४ गते उद्धार गरी नेपाल फर्काएको थियो । पीडित महिलाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही गरी पाउँ भनी माघ १० गते जाहेरी दिएकी थिइन् ।

अहिले कुवेतमै रहेका एक आरोपीले पीडितको मोबाइल नियन्त्रणमा लिई उनको फेसबुकबाट विभिन्न व्यक्तिलाई अश्लिल कुराकानी गर्ने र त्याे कुराको रेकर्ड पीडितका श्रीमान् लगायतका आफन्तलाई पठाइ धम्की दिने गरेको खुल्न आएको छ । 

उनीहरूले पीडित महिलालाई धम्की दिई कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, नेपाल गएपछि यस विषयमा उजुरी गर्ने छैन भन्ने बेहोराको कागज गराइ भिडियोसमेत बनाएको खुल्न आएको छ ।  

यस घटनामा संलग्न रहेका अन्य फरार व्यक्तिको खोजी जारी रहेको ब्युरोले जानकारी दिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • सुरेश राइ

    Feb. 4, 2023, 1:10 p.m.

    सुरेश राई उदयपुर हाल युएई नेपाल सरकारले चासो राखने हिम्मत गरे नेपालीको हितमा काम यदि गर्थें भने आज यी सब कुरा जनताका छोराछोरी ले दुख पाउनु त परको कुरा हो सरकारले देसमै आफ्नो जन्तालाइ रोजगारी दिन सक्ने थियो तर बिडम्बना के छ भन्दा न्यायलय न्यायाधीश सर्बोच्च सरकार प्रसासन यिनिहारु भन्दा माथी माफिया घुसपैठ भ्रष्टाचार कमिसनखोर दलाल छ्न तिनैले चलाको यो देस हो याहा सरकार ,न्यायाधीश ,सर्बोच्च ,ब्यूरो ,प्रसास्स्न,न्यायपालिका ,सबै मिलेका हुन्छन कारण पोइसा ।साच्चिकै भन्ने हो भने यिनिहरुले मानव बेच बिखन मात्र हैन ताल परे आफ्नै स्वास्नी दिदिबहिनी आमा पनि बेच्न सक्छन । यी यस्ताहरुलाइ किन ती प्रसासनले समाउदैन ? किन कि प्रसासन नै त्यो बाटो खन्ने बुल डोजर हो जहाँ हजारौं तस्करी सजिलोसँग आफ्नो व्यापार गर्न सक्छ । अर्को कुरा नेपालको दिदीबहिनीको दिमाख यसरी भरियको छ कि बिदेस गयर धनी हुने अब ती बलात्कार तनाब मेन्ट्स्ल्ली टचर भोगेका महिला लाई भेटेर सोध्नुस कि बिदेस सोचेजस्तो हुदो रैछ या हुदैन रहेछ भनेर धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया