नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस, पुल बनाउने काम थपिएको समयभित्र पनि नसकिने

 माघ २०, २०७९ शुक्रबार ७:४८:६ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चार वटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो ।

गएको पुस ५ गतेदेखि दैनिक चार घण्टा राजमार्ग नै बन्द गरेर भित्तो काट्ने काम जारी छ । तर कडा चट्टानका कारण थपिएको समयभित्र काम सम्पन्न नहुने अनक कन्स्ट्रक्शनका फिल्ड सुपरभाइजर इन्जिनियर अर्जुन निरौलाले बताउनुभयो । अहिलेसम्म आठ ठाउँमध्ये चार ठाउँको भित्तो काट्ने काम सकिएको उहाँले बताउनुभयो । तीन ठाउँको ७० प्रतिशत काम भएको छ । तुइन र चिसेन्जी खोलाको ३० प्रतिशतमात्र काम सकेको निरौलाले बताउनुभयो ।

तर तुइन खोलामा कडा चट्टान भएकाले अझ एक महिनाभित्र काम सम्पन्न गर्न कठिन छ । उहाँका अनुसार चिसेन्जी र तुइन खोलामा आठ वटा ठूला मेशिनले चट्टान फोर्ने काम गरिरहेका छन् । त्यसमा ३५ जना खटिएका छन् । गाडी आवागमनका कारण भित्तो काट्ने काममा समस्या आएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो चरणमा गएको पुस ५ देखि माघ ५ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म राजमार्ग नै बन्द गराएर आठ वटा पुलको एकै पटक भित्तो काट्ने काम सुरु भएको थियो । यो अवधिमा पनि नसकिएपछि पुनः फागुन ५ गतेसम्मका लागि दिउँसो सडक नै बन्द गरेर काम भइरहेको छ ।

अहिले दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ । पटक–पटक म्याद थप गरे पनि कडा पहाडकै कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ । दिउँसो सडक बन्द गरेर काम हुँदा यात्रुले भने सास्ती खेप्दै आएका छन् । तराईलाई काठमाण्डौसँग जोड्ने मुख्य राजमार्ग भएकाले यस सडकमा दैनिक हजारौँ गाडी गुड्छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि अनक कन्ट्रक्शनले एक अर्ब २५ करोड रुपैयाँमा विसं २०७६ चैत ११ गते निर्माणको जिम्मा लिएको हो । यसको काम सक्नुपर्ने समयावधि २०७९ पुस ५ गते थियो । तर समयमा काम सम्पन्न नभएपछि आयोजनाले २०८० पुस ९ गतेसम्म म्याद थप गरिदिएको छ ।

यो अवधिमा खहरे खोला, खोर खोला, लामो बालुवा खोला, भोर्ले खोला, सेती दोभान, डुम्रे, सिमलताल, टोपे र नाम्चे खोलामा गरी नौ वटा पुल निर्माण भइसकेका छन् । पाँच वटा पुल निर्माणाधीन छन् । जसमा जुगेडी, रिग्दी खोला, काली खोला, तुइन खोला र सिसेन्जी खोलामा निर्माण काम जारी छ । गाडी आवागमन बन्द गरेर काम गर्दा प्रभावकारीरूपमा काम भएको आयोजनाले जनाएको छ । त्यसैका आधारमा फागुनपछि पनि दिउँसो गाडी बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया