कुसुन्डा भाषाको चौथो चरणको कक्षा सञ्चालन गरिँदै

 माघ २०, २०७९ शुक्रबार १०:५५:४० | रासस
unn.prixa.net

काठमाण्डाै – भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । अभियानअन्तर्गत आयाेगले चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइमा दाङको घोराही उपमहागरपालिका ५ महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरिँदैछ । 

भाषा आयोगका सदस्य अमर गिरीले कुसुन्डा भाषा संरक्षणका लागि समुदायस्तरबाट लाग्नुपर्ने बताउनुभयो । लोप हुन थालेको भाषालाई संरक्षण गर्नका लागि भाषा आयोगले कार्यक्रम ल्याएको उहाँ बताउनुहुन्छ । ‘भाषा कुनै जातिको मात्रै होइन सबैको साझा हो, एउटा भाषा जीवित राख्नमा सम्बन्धित समुदाय पनि जागरुक हुनुपर्छ’, उहाँले भन्नुभयो ।

भाषा आयोगका सदस्य अमृत योञ्जनले भाषाभित्र व्यापक ज्ञान हुने तथा भाषा संस्कार र संस्कृतिसँग जोडिएको बताउनुभयो । कुसुन्डा भाषा नेपालमा मात्रै बोलिन्छ । पाठ्यसामग्री तयार गरेर बालबालिकालाई लेख्न लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
 
भाषा आयोगका उपसचिव माधवप्रसाद दाहालले कुसुन्डा भाषा लोपोन्मुख र सङ्कटोत्पन्न भाषा भएकाले ९० घण्टाको समय दिएर सिकाउने गरिएको बताउनुभयो । यो भाषाको व्याकरण निर्माण गरेर पछिल्लो पुस्तालाई सिकाउनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा एक सय २३ थरीका भाषा बाेलिन्छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले भाषा संरक्षणमा नगर सहयोग गर्न तयार गरेको बताउनुभयो । शून्यमा झर्न लागेको कुसुन्डा भाषालाई पछिल्लो पुस्ताले घरपरिवार र साथीका बीचमा बढी प्रयोग गरेमा भाषा जीवित उहाँ बताउनुहुन्छ ।

कुसुन्डा भाषाका अभियन्ता एवम् पुस्तक लेखक उदयराज आलेले शून्यबाट सुरु गरिएको भाषा अहिले तेस्रो चरणको सिकाइ सकेर चौथो चरणको सिकाइमा प्रवेश गर्न सकेकाेमा खुसी व्यक्त गर्नुभयो । महेन्द्र माविमा धर्नामा १२ र घोराही उपमहानगरपालिका १८ सुपैलाखुटीमा १२ गरी २४ जनाले यो भाषालाई सिकिरहेको उहाँले बताउनुभयो । पहिलो चरणमा औपचारिकरूपमा बोल्न सिकाइएको, दाेस्रो चरणमा लेख्न र पढ्न सिकाइएको र तेस्रो चरनमा व्याकरण सिकाइएको आलेले बताउनुभयो । चौथो चरणमा भाषा जोगाउनलाई बोल्न सिकाउनुपर्छ भन्ने मान्यताले सिकाइ अगाडि बढाउने उहाँले बताउनुभयो ।

नेपाल कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले अन्य जिल्लामा यो भाषा बोल्ने व्यक्ति नभएको बताउनुभयो । दाङमा एक जनामात्रै वक्ता रहेका र पछिल्लो पुस्ताले यो भाषालाई जोगाइराख्नका लागि सिकाइले उपलब्धि भएको उहाँले बताउनुभयो । कुसुन्डा विकास समाजले गरेको सर्वेक्षणमा एक सय ६१ जनसङ्ख्या रहेको उहाँले जानकारी दिनुभयाे ।

कुसुन्डा भाषाका एकमात्रै वक्ता कमलासेन कुसुन्डाले ज्ञानीमायाको निधनपछि आफू एक्लै भएको बताउनुभयो । आफूसँगै भाषा पनि मर्ने चिन्ता लागिरहेका बेला भाषा आयोगकाे सहयाेगमा संरक्षण गरेर पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न पाएकाेमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया