कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब नगराउन ललितपुर महानगरको अनुरोध

 माघ २०, २०७९ शुक्रबार ९:१०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुर महानगरपालिकाले घरमा पालिएका कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब नगराउन घरधनीलाई अनुरोध गरेको छ । व्यक्तिले घरमा पालेका कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब गराउने गरेको गुनासोपछि महानगरले सार्वजनिक सूचना निकालेर वातावरण प्रदूषित हुने भएकाले त्यसो नगर्न आग्रह गरेको हो ।

कुकुरको दिसा–पिसाबमा भएका जीवाणु वातावरणमा फैलिँदा मानव स्वास्थ्यमा पर्ने असरतर्फ पनि सचेत हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ । कुकुरलाई सार्वजनिक ठाउँमा दिसा–पिसाब गराएको भेटिए या सूचना प्राप्त भएमा कानुनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

महानगरको हरियालीसहित सफा र सुन्दर सहर बनाउने अभियानविरुद्ध काम नगर्न र सहर सफा राख्ने अभियानमा सहयोग गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ । देशकै पुरानो र जेठो सांस्कृतिक सहरका रूपमा रहेको ललितपुर महानगरपालिका स्मार्ट सिटीको रूपमा विकास गर्न विभिन्न कार्यक्रम भइरहेका छन् ।

महानगरपालिकाले यसअघि सूचना निकालेर स्मार्ट सिटी बनाउन तथा हरियाली प्रवर्द्धन गर्न विभिन्न ठाउँमा रोपिएका बिरुवा उखलेको, काटेको जानकारीमा आएकाले त्यसो नगर्न आग्रह गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया