शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

 माघ २०, २०७९ शुक्रबार १४:५५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेक - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ चनौटेमा रहेकाे जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्री प्रचण्डले  यस्ताे बताउनुभएको हो ।

उहाँले भन्नुभयो, 'जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ नागरिकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।'

विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उहाँको भनाइ छ । नेपाली नागरिकको समृद्धि र सुशासनको आकाङ्क्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा रहेको उहाँले बताउनुभयो । 

'सिन्धुपाल्चोकका नागरिकका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ । दुःख र सुखीमा म तपाईँहरूको साथमा छु', प्रधानमन्त्रीले अगाडि भन्नुभयो, 'जुरेको पहिरो, भूकम्पपछिको पुनःनिर्माण, मेलम्चीको विनाश लगायतका सबै पीडामा तपाईंहरुसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ ।'

उहाँले देशको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताउनुभयो । 'निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ', उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रतिनिधि सभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको बताउनुभयो । 'विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन । आम जनसमुदाय र छिमेकीको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौँ । नेपालको विकासमा भारत र चीन सरकारबाट महत्त्वपूर्ण सहयोग रहनेछ', उहाँले भन्नुभयो । 

शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उहाँले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गर्नुभयो ।

'शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ, शिक्षा नै महत्त्वपूर्ण क्षेत्र हो', उहाँले भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्त्वपूर्ण भएको भन्दै यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया