एकसिङ्गे गैँडाको संरक्षणमा सरकार संवेदनशील छ : प्रधानमन्त्री प्रचण्ड

 माघ २०, २०७९ शुक्रबार १७:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताउनु भएकाे हाे ।

उहाँले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर वन्यजन्तु जोगाउने बताउनुभयो । नेपालको प्राकृतिक सम्पदा, गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पुर्याएको उहाँको भनाइ छ ।

'जनावरको संरक्षणले पारिस्थतिकीय प्रणालीको रक्षा गर्छ । नेपाल सरकारले उचित तरिकाले त्यस्ता जनावरको सुरक्षामा प्रभावकारी काम गर्न प्रतिबद्ध छ', उहाँले भन्नुभयो । स्थानीयको सहयोग र सहभागितामा वन्यजन्तु सुरक्षा गरिने प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वमा भइरहेको वातावरणीय प्रभावको कारण पनि जनावरको संरक्षणमा चुनौती थपिँदै गएको उहाँले बताउनुभयो ।

एसियाका पाँच देशसहित १० देशका संरक्षणकर्मीको सहभागिता रहेको छलफल कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभयो ।

दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, 'गैँडासहित वन्यजन्तु संरक्षणका लागि विस्तृत योजना बनाएर अघि बढ्नुपर्छ ।' तीनवटै तहका सरकारको संयोजनमा गैँडा संरक्षण गर्नुपर्ने समय आएको उहाँको भनाइ छ ।

‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको कार्यक्रममा नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरू सहभागी छन् । नेपाल विश्वमै एकसिङ्गे गैँडाको दोस्रो ठूलो बासस्थान हो । भारतको काजिरङ्गपछि नेपालको चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैँडा पाइन्छन् । 

विदेशमा गैँडा संरक्षणमा भएका प्रयास र सिकाइलाई आपसमा साटासाट गर्न यो कार्यक्रम सहयोगी बन्ने विश्वास लिइएको छ ।

पाँच देशका अधिकारीहरूले आफ्नो देशमा संरक्षणका क्षेत्रमा भएका प्रयासबारेमा जानकारी गराएसँगै विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैँडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । शनिवार भाेलि गैँडाको बासस्थानको अध्ययन गरिने कार्यक्रम  छ । यस्तै पर्सि आइतवार संरक्षणसम्बन्धी चितवन घोषणापत्र सार्वजनिक गरिनेछ । 

छलफलमा ३० विदेशी र ३० जना नेपाली संरक्षण तथा अधिकारी सहभागी छन् । यसअघि ‘राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ पहिलो पटक इण्डोनेसिया र दोस्राे भारतको नयाँ दिल्लीमा भएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया