खोटाङ : लामीडाँडा विमानस्थलमा उडान नहुँदा दर्जनाैँ होटलमा ताला

 माघ २०, २०७९ शुक्रबार १९:१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ - खोटाङको लामीडाँडा विमानस्थलमा उडान बन्द हुँदा दर्जनौँ होटलमा वर्षाैँदेखि ताला लागेकाे छ । रावाबेसी गाउँपालिका–३ लामीडाँडामा रहेकाे विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौँ होटलमा ताला लागेको हो ।

२०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा विमानस्थलमा उडान नहुँदा होटल तथा पसल सुनसान बनेको स्थानीय व्यवसायी जगत थापाले बताउनुभयो । विमानस्थलका कारण आर्थिक केन्द्रका रुपमा विकास हुँदैगएको लामीडाँडामा हिजोआज मानिस आउन छाडेका छन् । दुई चार वटा बाहेक अन्य होटलहरुमा ताला लागेको छ । होटल तथा पसल अगाडि झारपात पलाएको छ । भिडभाड हुने होटल चल्न छाडेपछि प्रायजसाे व्यवसायी पुरानै पेसा खेतीपातीतिर फर्किएका छन् । 

खोटाङका तीन वटा विमानस्थलमध्ये लामीडाँडा विमानस्थल सबैभन्दा पुरानो विमानस्थल हो । कच्ची र धुलाम्मे विमानस्थल हुँदा नियमित उडान भइरहेको विमानस्थलमा कालोपत्रे गरेपछि भने उडान हुन छाडेको लामीडाँडाका वडासदस्य महेशकुमार श्रेष्ठले बताउनुभयो ।

कालोपत्रे गरिएपछि लामीडाँडामा २०७६ असार ३ गते परीक्षण उडान भरिएको थियो । त्यसयता विमानस्थलमा उडान हुन सकेको छैन । उडान नहुँदा  रावाबेसी गाउँपालिका, ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिका, ओखलढुङ्गाको कुइभीर र सोलुखुम्बुका केही ठाउँका स्थानीय मारमा परेका रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया