'नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ'

 माघ २०, २०७९ शुक्रबार १९:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वायुसेवा सञ्चालक सङ्घले नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको दाबी गरेकाे छ ।  शुक्रवार आज सङ्घले काठमाण्डौमा हवाई सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको दाबी गरेकाे हाे । सङ्घले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ ।

सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताउनु भयो । उहाँले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरुमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको बताउनु भयो । उहाँले हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन, मौसम, प्राविधिक पक्ष, व्यवस्थापन, नियमन र मानवीय गल्ती लगायतको कुनै पनि कारण हुनसक्ने बताउनु भयो ।

उहाँले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको दाबी गर्नुभयाे ।अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनको लागि नियमन निकायले थप सुरक्षित अवधारणाहरु ल्याउन जरुरी रहेको औँल्याउनु भयो । उहाँले नेपालको हवाई उद्योग देशको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पुर्‍याएको उल्लेख गर्नुभयो ।

अध्यक्ष थापाले विमान काठमाण्डाै बाहिरका विमानस्थलमा पार्किङको लागि लैजानुपर्ने विषयमा नागरिक उड्डयन प्राधिकरणले बाहिरका विमानस्थलहरुमा प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले वायु सेवा कम्पनीहरु नेपालका सबै क्षेत्रमा हवाई सेवा पुर्‍याउन तयार रहेको भन्दै सरकारले त्यही अनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराएमा काठमाण्डाै भन्दा बाहिरका विमानस्थलहरुमा हवाई कम्पनीका जहाजहरु जान तयार रहेको बताउनु भयो ।

अध्यक्ष थापाले काठमाण्डाै विमानस्थलमा जहाज पार्किङको लागि सानो ठाउँ रहेको तर काठमाण्डाै बाहिरका विमानस्थलहरुमा पार्किङका लागि प्राप्त पूर्वाधारहरु नभएको बताउनु भयो । उहाँले भन्नुभयो,‘नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको छ । हवाई सुरक्षा धेरै राम्रो र पाइलटहरु अनुभवी भएको देशमा पनि हवाई दुर्घटनाहरु भएका छन् । त्यसैले नेपालको हवाई उडान उद्योग असुरक्षित छैन । दुर्घटनालाई नजरअन्दाज गर्नुपर्छ भनेको होइन । दुर्घटना हुन नदिनको लागि हामीले नयाँ अवधारणाहरु बनाउँदै जानुपर्छ ।'

सङ्घका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकहरुको समेत सहकार्यमा ल्याएको बताउनु भयो । उहाँले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दो बनाउन मद्दत पुग्ने बताउनु भयो । उहाँले प्राधिकरणले यसअघि भएको हवाई उडान मापदण्डहरु असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको दाबी गर्नुभयाे । उहाँले प्राधिकरणको नयाँ नियम सञ्चालक सङ्घले तत्काल पालना गर्न तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नागरिक उड्डयन प्राधिकरणले हवाई उडानलाई थप सुरक्षित र भरपर्दाे बनाउनको लागि नयाँ व्यवस्था गरेको हो । तर यसअघि भएको हवाई उडान मापदण्डहरु असुरक्षित भएर नयाँ आएको भने होइन । यसअघि लागू भइरहेका मापदण्डहरुका कारण समस्या भए थप सुधार गर्न लागि आएको हो । नागरिक उड्डयन प्राधिकरणले ल्याएका पाँच मापदण्ड वायुसेवा सञ्चालक सङ्घ र प्राधिकरणबीच छलफल भएर आएको हो । त्यसलाई आजदेखि नै लागू गर्न चाहेका छौँ । नयाँ मापदण्डले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने देखिन्छ ।’

त्यस्तै,नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनको लागि हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हवाई सुरक्षामा नियमन, तालिम र टेक्नोलोजीमा भरपर्छ । हामी तालिमको पक्षमा एकदमै कमजोर रहेका छौँ । पाइलट, इन्जिनियर, ट्राफिक कन्ट्रोलरलगायत फ्रन्टलाइनमा काम गर्नेहरुलाई तालिमको कमी छ । त्यसमा पनि पाइलट र इन्जिनियरहरुमा अलि बढी तालिम दिने गरेको भएता पनि हवाई ट्राफिक कन्ट्रोलरहरुलाई कम भएको छ । नागरिक उड्डयन प्राधिकरणले दिने तालिमहरुमा समेत कमी छ । प्राधिकरणले ट्राफिक कन्ट्रोलरहरुलाई दिने तालिम बढाउन आवश्यक छ ।' 

उहाँले नेपालमा नम्बरका आधारमा विमानस्थलहरु बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्तिको अभाव रहेको बताउनु भयो । उहाँले विमानस्थल बढेसँगै हवाई ट्राफिक कन्ट्रोल पनि बढेको बताउँदै काम गर्ने जनशक्तिको अभाव भइरहेको गुनासो गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया