सुनको भाउ घट्दै :  दुई दिनमा ३ हजार ४ सय रुपैयाँ घट्यो

 माघ २२, २०७९ आइतबार १०:५८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ । अस्ति तोलामा १ लाख ६ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज १ लाख ४ हजार १ सय रुपैयाँमा झरेको हो । अस्ति पनि सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घटेको थियो ।

गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ घटेको छ । सुनको भाउ अझै केही घट्न सक्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔँस १८ सय ६५ डलर छ । अझै ६५ डलर जति घट्ने अनुमान छ।

अमेरिकामा रोजगारी पाउनेको सङ्ख्या बढ्न थालेसँगै सुनको कारोबारमा पनि प्रभाव पर्न थालेको हो । तर, सुनको भाउ घट्नुमा यसलाई मात्रै कारण मान्न नमिल्ने उहाँको भनाइ छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा ४५ रुपैयाँले घटेर आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया