हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी

 माघ २३, २०७९ सोमबार १४:२१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । आज सोमवार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिलाई चलायमान बनाउने कुरामा छलफल गर्नुभएको हो । उहाँले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयक संसदबाट पास गर्ने भन्नेबारेमा प्रमुख सचेतकहरूबाट सुझाव लिनुभएको हो । 

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्रीले संसद्को बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरू लैजाने भन्नेबारेमा छलफल भएको बताउनुभयो । उहाँले संसद् अहिले प्रभावकारी नबनेको भन्दै संसद् भाषणको रमिता देखाउने कुरामै सीमित रहेको बताउनुभयो । आफूले नागरिकता ऐन, सङ्घीय कर्मचारी ऐनजस्ता विधेयकलाई संसद्को बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको सांसद यादवले सुनाउनुभयाे । हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा झन्डै २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाउनुभएको उहाँकाे भनाइ छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, विधेयकहरूलाई कसरी जनमुखी बनाउने, नागरिकका आवश्यकतालाई कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने, अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्नेबारेमा छलफल गर्नुभएको बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुरु भए पनि संसद्ले गर्ने कार्य सुखद नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाउनुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरूले संसद्लाई कसरी सुरु गर्ने भन्नेबारेमा छलफल गरेको बताउनुभयो । संसद् सुरु भए पनि संसद्का प्राविधिक कुराहरूमा नै अहिलेसम्म अड्किएकाले अबका दिनमा संसद्लाई कस्तो बिजनेस दिने भन्नेबारेमा छलफल भएको उहाँकाे भनाइ छ ।  

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसद्ले बिजनेस नपाएको र संसदमा विधेयकहरू अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरूसँग सुझाव लिनुभएको बताउनुभयो । उहाँले सहजरूपमा सरकारले संसदमा विधेयकहरू पेस गर्नका लागि के कस्ता अप्ठ्याराहरू छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया