सांसद चाैधरीलाई थुनामुक्त गर्न उच्च अदालतले अन्तरिम आदेश दिएन

 माघ २३, २०७९ सोमबार १७:३७:२६ | विमल बिष्ट
unn.prixa.net

डोटी – नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले दायर गर्नुभएको रिटमा उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ । 

चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो । तर उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश नदिएर जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेशमात्र जारी गरेको हाे । 

उच्च अदालतका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरिएको छ । यस मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफलपछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न सकिने छ । त्यसका लागि माघ २९ गते अर्को पेसी तोकिएको छ । 

१३ वर्षअघिको आगजनी मुद्दामा सांसद चौधरीसहितका तीन जनालाई जिल्ला अदालत कैलालीले छ महिना कैद र आठ लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो । त्यही मुद्दामा प्रहरीले चौधरीलाई केही दिनअघि बाँकेबाट पक्राउ गरेको थियो । चौधरी अहिले कैलाली कारागारमा थुनामा हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया