पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

 माघ २३, २०७९ सोमबार १९:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले सोमवार एक कार्यक्रम आयोजना गर्दै आउँदाे फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । 

सार्वजनिक

सूचीमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा अटाएका छन् । सूचीमा परेका खेलाडी अघिल्लो वर्ष सम्पन्न विभिन्न प्रतियोगितामा पाएको सफलता र चर्चाको आधारमा मनोनयनमा परेका मञ्चका सचिव एव्म अवार्डको खेलाडी छनोट समितिका संयोजक अञ्जन खड्काले बताउनुभयो । मनोनयनमा परेका मध्येबाट विजेताको चयन ई–सेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ । अवार्डसँग ई–सेवाको याे तेस्रो वर्षको सहकार्य हो । मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि सोमवार नै ई–सेवासँग आउँदाे दुई वर्षका लागि सम्झौता नवीकरण गरेको छ । 

सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र ई–सेवाको तर्फबाट हेड अफ बिजनेस डेभलपमेन्ट आशिष प्रसाईँबीच हस्ताक्षर भयो । ई–सेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५/२५ प्रतिशत रहनेछ ।

मुख्य प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनी रहेको अवार्डमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्ष विभिन्न आठ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्दैछ । उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ ।

त्यस्तै यस पटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई सम्मान गर्ने मञ्चले जनाएको छ । अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया