गुल्मी : पशुको बाँझोपन परीक्षण गर्न भिडियो एक्स–रे सेवा सुरु

 माघ २४, २०७९ मंगलबार १६:२०:२७ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल फाेटाे

गुल्मी – गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले रेसुङ्गा नगरपालिका र ईस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो । 

कार्यालयका प्राविधिकहरूले किसानको गोठ–गोठमै पुगेर भिडियो एक्स–रे सेवा सुरु गरेपछि यहाँका किसान निकै खुसी भएका छन् । बाँझोपनको पहिचान र उपचार नहुँदा लामो समयसम्म किसानले गोठमा त्यत्तिकै थारो पशुचौपाया पाल्नुपर्ने बाध्यता थियो । 

भिडियो एक्स–रेबाट पत्थरी, कलेजो लगायतका परीक्षण पनि हुने कार्यालयले जनाएको छ । कार्यालयले भिडियो एक्स–रे ल्याएसँगै ईस्मा ६ का अगुवा किसान कृष्ण घिमिरेले केन्द्रले जिल्लामा पशुका लागि नयाँ सेवा प्रवाहसँगै उपचारमा नयाँ प्रविधि भित्र्याएकाेमा खुसी व्यक्त गर्नुभयो । घिमिरेले आफूले पनि त्यसै प्रविधिमार्फत आफ्ना गाईको बाँझोपनाको समस्या पहिचान गर्न सजिलो भएको बताउनुभयो । उहाँले अन्य किसानलाई पनि नयाँ प्रविधिको प्रयोग गर्न सुझाव दिनुभएको छ । 

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफ्लेले लुम्बिनी प्रदेशमै यो उदाहरणीय काम भएको बताउनुभएको छ । प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको सिफारिसमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले विज्ञ केन्द्रलाई भिडियो एक्स–रे मेशपन उपलब्ध गराएको काफ्लेले बताउनुभयो । 

पशुमा बाँझोपनका कारण किसानले त्यसको उपचारमा विकल्प नहुँदा पशुको गर्भ पहिचान गर्न अहिलेसम्म हातैले छाम्नुपर्ने बाध्यता थियो । कार्यालयमा एक्स–रे मेशिन आएसँगै बाँझोपन निवारणका लागि पालिकाका प्राविधिकमार्फत तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको डाक्टर काफ्लेले जानकारी दिनुभयो । 

गुल्मीमा गएकाे हप्तादेखि भिडियो एक्स–रे सेवा सुरु भएको हो । कार्यालयले आफ्नो स्वीकृत कार्यक्रममा राखेको बाँझोपन निवारण शिविरले किसानलाई पनि थप सहज हुने बताइएको छ । परम्परागत पद्धति र प्रक्रियाबाट गरिने कामभन्दा प्रविधिको प्रयोगबाट गरिने काम थप परिष्कृत र वैज्ञानिक हुने कुरामा किसान थप आशावादी बनेका छन् । कार्यालयले यो सेवा जिल्लाका सबै पालिकामा पुर्‍याउने जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया