ह्यान्डब्रेक ठिक नभएका, टायर धेरै घिस्रिएका गाडी चलाउने २१ चालक कारबाहीमा

 माघ २४, २०७९ मंगलबार २०:७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौको कलङ्कीमा मङ्गलवार गरिएको विशेष जाँचका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २१ वटा गाडीका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको कमान्डमा प्राविधिकसहितको टोलीले काठमाण्डौको कलङ्कीमा एक सयभन्दा बढी गाडीकाे जाँच गर्दा ह्यान्डब्रेक ठिक नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २१ वटा गाडीका चालकलाई कारबाही गरिएको हो । ती गाडीकाे मर्मतपछि तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । 

अवस्था ठिक नभएका गाडी चलाउँदा दुर्घटनाको जोखिम हुने भएकाले गाडीकाे अवस्था जाँचेर मात्र चलाउन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टकाे अनुरोध छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया