निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयाेजनाकाे बिजुली परीक्षण सुरु

 माघ २५, २०७९ बुधबार १७:५१:२६ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माण भएकाे ८६ मेगावट क्षमताको सोलु दुधकोसी जलविद्युत् आयोजनाले बिजुली परीक्षण सुरु गरेको छ । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाले आज (बुधवार) देखि बिजुली परीक्षण थालेको हो । 

थुलुङ दुधकोसी गाउँपालिका ३ पञ्चनमा मुख्य विद्युत् गृह रहेको आयाेजनाले आजदेखि सुरु गरेको परीक्षण केही दिनसम्म जारी रहने साहस ऊर्जा कम्पनी लिमिटेडका जनसम्पर्क अधिकृत कैलाश निरौलाले जानकारी दिनुभयाे । यो आयोजना देशको तेस्रो ठूलो आयोजना पनि हो ।

आयोजनाको विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्लामा रहेकाे लाम्माने सबस्टेशनमा जोडिनेछ । विद्युत् गृहदेखि सबस्टेशनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो । आयोजनाबाट वार्षिक ५२० गिगावाट घन्टा (५२ करोड युनिट) बिजुली उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १०० दशमलव २७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र बर्खामा ४१९ दशमलव ९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) बिजुली उत्पादन हुनेछ ।

आयोजनाबाट यसअघि २०७८ चैतदेखि नै बिजुली उत्पादन सुरु गर्ने तालिका भए पनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्यालगायतले तालिका सरेको कम्पनीले जनाएको छ ।

यो आयोजना सम्पन्न गर्न झन्डै ११ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसहित नाै वटा बैंकले आठ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी दुई अर्ब ४५ करोड रुपैयाँ संस्थापक र एक अर्ब पाँच करोड रुपैयाँ साधारण शेयरबाट जुटाइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया