सांसदले राजीनामा दिँदा सभामुखसमक्ष सनाखत गर्ने/नगर्ने विषयमा मत बाझियाे

 माघ २५, २०७९ बुधबार १८:२७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिँदा सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधि सभा सदस्यको राजीनामाको व्यवस्थासम्बन्धी छलफलका क्रममा राजीनामा दिने सांसदले सभामुखसमक्ष सनाखत गर्ने कि नगर्ने भन्ने सम्बन्धमा प्रतिनिधि सभा सदस्यको मत बाझिएको हो । 

बैठकमा बोल्दै समिति सदस्य सुवासचन्द्र नेम्वाङले विगतको अभ्यास सनाखत गर्ने रहेको बताउनुभयो । उहाँले संविधानमा भने राजीनामा दिएपछि स्वीकृत या सनाखत नगरि त्याे पद रिक्त हुने व्यवस्था भएको पनि उल्लेख गर्नुभयो । कसैले सनाखत गर्ने गरेको र कसैले सनाखत नगर्ने गरेको भन्दै उहाँले यो दुवै दृष्टान्तलाई हेरेर उपयुक्त व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

बैठकमा बोल्दै समिति सदस्य प्रदीप यादवले आफूहरूको हस्ताक्षरको दुरुपयोग गर्दै राजीनामा बुझाउन सक्ने भन्दै स्वयम् व्यक्तिले सनाखत गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

समिति सदस्य प्रेम सुवालले भने लिखित राजीनामा गरिसकेपछि सनाखत गरिरहनु आवश्यक नभएको तर्क गर्नुभयो । कतिपयले राजीनामा गरेपछि पनि सनाखतअघि 'बार्गेनिङ' गर्ने गरेको भन्दै सनाखत गर्ने व्यवस्था राख्न आवश्यक नरहेको बताउनुभयो । उहाँले राजीनामा दिइसकेपछि स्वतः स्वीकृत गर्ने व्यवस्था गर्नुपर्ने माग राख्नुभयाे । 

यसअघि सांसदहरूले राजीनामा गरेर 'बार्गेनिङ' गर्ने गरेको तथा सार्वजनिक व्यक्ति भएकाले हस्ताक्षरको दुरुपयोग पनि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राजीनामासम्बन्धी प्रावधानलाई व्यावहारिक बनाउनुपर्नेमा समिति सदस्यले जोड दिएका थिए ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया