‘सांसदलाई बोर्डिङकाे विद्यार्थीजस्तो २ पटक नआएपछि 'रेस्टिकेट' हुन्छ भनेर लेख्न मिलेन’

 माघ २५, २०७९ बुधबार १९:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा तथा संसदीय समितिहरूको बैठकमा सांसदको उपस्थितिलाई नियमित गराउनुपर्नेमा जोड दिइएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा संसद् बैठकमा अनुपस्थितिको सूचनासम्बन्धी व्यवस्थामा धारणा राख्ने धेरैजसाे सांसदले बैठकमा सांसदको उपस्थितिलाई प्रभावकारी बनाउन दैनिक हाजिरी प्रकाशित गर्नेसम्मको व्यवस्था नियमावलीमा नै राख्नुपर्नेमा जोड दिएका हुन् । सांसद हाजिर गरेर हिँड्ने र विधेयक पास गर्ने बेला कोरम नपुगेर कार्यसूची नै अघि बढाउन नसक्ने विगतको समस्या समाधान हुने गरी सांसदको उपस्थितिलाई प्रभावकारी बनाउनुपर्नेमा समिति सदस्यले जोड दिएका हुन् ।

मस्यौदा समिति सदस्य सुवासचन्द्र नेम्वाङले सांसदको उपस्थिति प्रत्येक बैठकमा हुनुपर्ने र प्रत्येक दिन संसद् बैठकमा उपस्थित हुन् भन्ने नागरिककाे चाहना पनि रहेको उल्लेख गर्दै यसतर्फ सांसद स्वयम् पनि गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो, ‘सांसद अनुपस्थित हुनु कारबाहीको विषय हो । सूचना नदिइकन लगातार १० दिन अनुपस्थित भयो भने त पदै रिक्त भयो । सांसदकाे उपस्थिति प्रत्येक दिन हुनुपर्छ । यही खोजेका छन् नागरिकले कारणसहित हामी अनुपस्थित भएका छौँ भने पनि नागरिककाे त्यसप्रति राम्रो टिप्पणी हुँदैन । अग्रिम सूचना दिएर अनुपस्थित हुन सकिने ठाउँ पनि राखिदिएको छ । मेरो बुझाइ भनेकाे प्रत्येक दिन उपस्थित हुनुपर्छ । पूर्ण बैठकमा पनि । समितिको बैठकमा पनि ।’

समिति सदस्य अमरेशकुमार सिंहले संसद्लाई व्यवस्थित बनाउन सांसदको प्रत्येक दिनको हाजिरी 'स्क्रिन' मा देखिने गरी व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक दिन कुन सांसद उपस्थिति भए, को भएनन् भन्ने सबैले थाहा पाउन सक्ने गरी 'स्क्रिनमा डिस्प्ले' गर्ने प्रावधान राखिनुपर्नेमा जोड दिनुभयो । सांसद देश र नागरिकप्रति जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । 

उहाँले भन्नुभयो, ‘संसद्लाई व्यवस्थित बनाउने हो भने स्क्रिन सिस्टमको व्यवस्था गरौँ । उपस्थिति भएपछि अटमेटिक स्क्रिनमा राखिदिने । सबै दिन राखौँ । हरेक सांसदको नाम लेखेर उपस्थिति र अनुपस्थिति राखौँ । अरूको सबै पारदर्शी हुनुपर्ने । हाम्रो सबै कुरा लुकीछिपी हुनुपर्‍याे ? सांसदको जीवन सार्वजनिक हो । सांसद देश र नागरिकप्रति जिम्मेवार हुँदैन भने कर्मचारी कसरी जिम्मेवार हुन्छ ?’ 

त्यसैगरी समिति सदस्य शक्ति बस्नेतले एक दिनको अनुपस्थितिलाई भुलचुक मानेर दोस्रो दिनदेखिको अनुपस्थितिलाई सूचना दिने व्यवस्था गर्दा व्यावहारिक हुनसक्ने तर्क गर्नुभयो । उहाँले अनुपस्थित हुने कुराको अग्रिम सूचना दिने व्यवस्थालाई कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो । 

समिति सदस्य प्रेम सुवालले बैठकमा अनुपस्थित हुँदा अग्रिम सूचना दिने व्यवस्थाले सांसद गयल नहुने भएकाले त्याे व्यवस्था ठिक भएको भन्दै समर्थन गर्नुभयो । उहाँले शीर्ष नेता बैठकमा धेरै गयल हुने गरेको तर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समिति सदस्य नागिना यादवले भने सांसदको अनुपस्थितिको सूचना प्रतिनिधि सभा बैठकमा पेस गर्न नहुने धारणा राख्नुभयो । उहाँले सांसदलाई सभामुखले विद्यार्थी पढाएजस्तो गरी कडाइ गर्न नहुने तर्क गर्नुभयो । सांसद अनुपस्थितिको सूचना बैठकलाई जानकारी दिनु लाजमर्दो कुरा भएको टिप्पणी उहाँले गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘सभामा लगेर सभामुखका लागि विद्यार्थीलाई पढाएको जस्तो भयो । सभामै लगेर फलानो छैन भनेर २७५ सांसदलाई जानकारी गराउनु लाजमर्दो कुरो । यो त अत्ति नै भयो ।’

त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सामाजिक सञ्जालको प्रयोग व्यापक भइरहेका बेला बैठकमा सांसद अनुपस्थितिको जानकारी दिँदा सांसदलाई नै 'ब्याकफायर' हुनसक्ने भन्दै गोप्य राख्नुपर्ने प्रस्ताव गर्नुभयो । 

समिति सदस्य विद्या भट्टराईले सांसदको हाजिरीको विषय सुविधासँग जोडिएर आउने भएकाले त्यस्तो हुन नदिन अनुपस्थितिको कारण सार्वजनिक गर्नुपर्ने प्रस्ताव गर्नुभयो । 

सर्वेन्द्रनाथ शुक्लाले सांसदको उपस्थितिको कुरालाई नियमावलीमा जति कडाइका साथ लेखे पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले शीर्ष नेता बैठकमा धेरै अनुपस्थित हुने गरेको भए पनि त्यसलाई मिलाइने गरेको गुनासाे गर्नुभयाे । सांसद स्वयम् जिम्मेवार नभएसम्म समस्याको समाधान नहुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कार्यान्वयनमा समस्या छ । फलाना ठूलो नेता हो उहाँको जसरी पनि मिलाइदिनुपर्छ भनेर कहिले परामर्श समितिमा, कहिले चिया बैठकमा छलफल भएर निर्णय हुने गरेको छ । जति कडा भाषा हामीले लेखे पनि कार्यान्वयन पक्ष त्यही किसिमले नै रहन्छ । भाषा लेखेर हुँदैन । जबसम्म सांसदमा स्वम् जिम्मेवारीबोध हुँदैन । बोर्डिङ स्कुलको विद्यार्थीजस्तो दुई पटक नआएपछि 'रेस्टिकेट' हुन्छ भनेर लेख्न मिलेन ।’

बैठकमा बोल्ने अन्य समिति सदस्यले पनि सांसदको हाजिरीलाई व्यावहारिक, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया