म्याग्दीको बेनी नगरपालिकाद्वारा नगर प्रहरी भर्ना, दर्ज्यानी चिह्न प्रदान गरी काममा परिचालन

 माघ २६, २०७९ बिहिबार १६:४४:५३ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाले नगर प्रहरी भर्ना गरी आज (बिहीवार) दर्ज्यानी चिह्न प्रदान गरेको छ । बेनी नगरपालिकाको नगर प्रहरी सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ अनुसार नगर प्रहरी भर्ना गरिएको हो ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल, सिपाहीद्वय रेजिना विक र अभिषेक मिजारलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयो । गएको शुक्रवार नियुक्त गरिएका तीन जना नगर प्रहरीलाई आज एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरी काममा परिचालन गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

प्रहरी हवल्दारमा तीन जना र सिपाहीमा १० जनाको आवेदन परेकोमा लिखित परीक्षा तथा अन्तर्वार्ता, स्वास्थ्य परीक्षण गरी तीन जनालाई छनोट गरिएको थियो । छ वटा पालिका रहेको म्याग्दीमा बेनी नगरपालिकाले पहिलो पटक नगर प्रहरी भर्ना गरेको हो । 

आधारभूत तालिम पाएपछि नगर प्रहरीहरू नगरपालिकाको औपचारिक काममा खटिएका छन् । उनीहरूले कार्यविधिअनुसार सेवा सुविधा पाउने छन् । नगर कार्यपालिकाको निर्णय तथा आदेश र कार्यविधिमा उल्लेख भए बमोजिम नगर प्रहरीलाई विभिन्न ३४ प्रकारका काम गर्ने अधिकारहरू दिइएको छ । 

संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा पालिकालाई आफ्नै प्रहरी भर्ना गर्न पाउने अधिकार उल्लेख छ । नगर प्रहरीलाई सार्वजनिक सम्पत्तिको संरक्षण, न्यायिक समितिको काम कारबाहीमा सघाउने, राजस्व सङ्कलन एवम् विपद् व्यवस्थापनमा परिचालन गरिने बेनी नगरपालिकाका मेयर केसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया