बाग्मती प्रदेश : जनयुद्ध दिवसमा बिदा दिने निर्णयपछि मन्त्रीहरु असन्तुष्ट

 माघ २७, २०७९ शुक्रबार ९:३८:३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकमा एजेण्डा नै नलगि जनयुद्ध दिवसका अवसरमा बिदा दिने निर्णय गरिएको भन्दै मन्त्रीहरुले नै असन्तुष्टि जनाएका छन् ।

माघ २४ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय भन्दै फागुन १ गते जनयुद्ध दिवसका दिनमा सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक भएपछि मन्त्रीहरु असन्तुष्ट बनेका हुन् ।

मन्त्रिपरिषदमा एजेण्डा नलैजाने तर, पछि थपेर लेखिएको हुनसक्ने एक मन्त्रीले बताएका छन् । प्रदेशको मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित ११ जना छन् । तर, माघ २४ गतेको बैठकमा जनयुद्ध दिवसका दिन बिदा दिने भनेर एजेण्डा पनि नआएको र त्यस दिन निर्णय पनि नभएको अर्का मन्त्रीले बताए । 

जनयुद्ध दिवसका दिनमा बिदा दिने भनेर कुनै पनि कुरा मन्त्रिपरिषद्को बैठकमा नउठेको र निर्णय भने बाहिर आएपछि जानकारी पाएकाे भन्दै राप्रपाका मन्त्रीले धेरै असन्तुष्टि जनाएका छन् । बिदा दिएको भनेर निर्णय बाहिर सार्वजनिक भएपछि आफूले बल्ल जानकारी पाएको बताएका छन् ।

मन्त्रिपरिषद्को बैठकको निर्णय प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले प्रमाणीकरण गर्नु भएको छ । एजेण्डा नै नलगिएको विषयलाई निर्णय भन्दै बाहिर लगेपछि प्रमुख सचिवमाथि प्रश्न चिह्न खडा भएको मन्त्रीहरुले बताएका छन् । 

मन्त्रिपरिषद्को निर्णयमा सार्वजिनक बिदा दिने विषय पछि थप भएको उनीहरुकाे  दाबी छ । यसअघि प्रदेश सरकारले दिएका सार्वजनिक बिदाहरू मन्त्रिपरिषदमा छलफल भएर निर्णय हुने गरेका थिए । बाग्मती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।

२४ माघमा बसेको मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया