सडक कालोपत्र गर्न ठेक्का लागेको एक वर्षसम्म पनि काम अघि बढ्न सकेन

 माघ २९, २०७९ आइतबार १९:५०:२४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङकाे पाथीभरा सडक

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा सडकको सुकेटारबाट काफ्ले पाटीसम्मको कालोपत्र गर्ने कामको ठेक्का लागेको एक वर्ष हुदाँसमेत काम अघि बढ्न सकेको छैन । 

बर्सेनि सयाैँ तीर्थयात्री आउजाउ गर्ने सडक कालोपत्र गर्न ठेक्का लागेको एक वर्षसम्म पनि काम प्रगति भने शून्यजस्तै छ । गएको वर्ष पुसमा दुई वर्ष छ महिना (२०८१ जेठ मसान्तसम्म) मा सक्ने गरी काठमाण्डौको कन्टेक प्रालीले १० किलोमिटर सडक कालोपत्र गर्ने कामको ठेक्का सम्झौता भएको थियो । 

याे सडकका लागि ९५ करोड रुपैयाँकाे ठेक्का खुलेको भए पनि ४१ करोड ७६ लाख ४७ हजार रुपैयाँमा कन्टेक प्रालीले ठेक्का पारेको हो । तर काम सक्ने अवधिलाई हेर्दा यो समयसम्ममा झन्डै ४० प्रतिशत काम सकिसक्नुपर्नेमा आठ प्रतिशतमात्र काम नभएको ताप्लेजुङ उत्तर दक्षिण ओलाङचुङगोला सडकका प्रमुख अमिन्द्र खड्काले बताउनुभयो ।  

यही कम्पनीले ठेक्का पारेको सुकेपोखरी, छातेढुङ्गा, ह्वाकु, चोकपुर हाङपाङ ढुङ्गेसाघु सडकको निगुरादिन हाङपाङ खण्डमा पनि काम शून्यजस्तै छ । २०७८ पुस ११ गते नै कन्टेक प्रालीले कालोपत्र गर्न ठेक्का सम्झैता भएको थियो । 

दुई लेनको बाटो कालोपत्रका ८० करोड रुपैयाँको ठेक्का खुलेकोमा कन्टेक प्रालीले ३६ करोड ६४ लाख ७१ हजारमा ठेक्का पारेको थियो । कामका लागि जति ताकेता गरे पनि ठेकेदार कम्पनीले अटेर गरेर काममा ध्यान नदिएको सडक प्रमुख खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया