सोलुखुम्बु : देउसाका पूर्ववडाध्यक्षको घरमा आगलागी, ३७ लाख रुपैयाँभन्दा बढीको क्षति

 फागुन १, २०७९ सोमबार १०:७:४४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसाको एक घरमा आगलागी हुँदा ३७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । आज सोमवार बिहान अन्दाजी ३ बजे निवर्तमान वडाध्यक्ष राम सङ्घर्ष किराँतीको घरमा आगलागी हुँदा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे ।

आगलागीबाट किराँतीको ढुङ्गा र सिमेन्टले बनेको दुई तले घर र नगद ६० हजार रुपैयाँसहित सबै धनमाल जलेर नष्ट भएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो । आगलागीमा परि एक जना घाइते भएका छन् ।

आगो लागेपछि भाग्ने क्रममा त्यही घरमा बस्दै आएका युवराज खत्री सामान्य घाइते भएका वडाध्यक्ष एवम् गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो । खत्रीको टाउको र हातखुट्टामा चोट लागेको छ । उहाँको ग्रामीण स्वास्थ्य चौकी देउसामा उपचार भइरहेको कार्कीले बताउनुभयो । विद्युत् सर्ट भएर सुरु भएको आगोले घर पूर्ण रुपमा जलेपछि मात्रै आगाे निभाइएकाे प्रहरीले जनाएकाे छ। 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया