संसद्लाई आराेप–प्रत्याराेप र व्यङ्ग्य गर्ने थलाे बनाउन हुँदैन : गाेकर्ण विष्ट

 फागुन २, २०७९ मंगलबार १९:४०:३९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेकपा एमालेका सचिव गोकर्ण विष्टले संसद्लाई राजनीतिक दलहरूको आरोप प्रत्यारोप र व्यङ्ग्य गर्ने थलो बनाउन नहुने बताउनुभएको छ । उहाँले दलहरू राजनीतिक दाउपेज र खिचातानीबाट माथि उठेर नागरिकका आधारभूत समस्या समाधान गर्न साझा ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो । 

मङ्गलवार मुसिकोट नगरपालिका १ अरेवाकाे जनज्योति माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवम् १२ कोठे विद्यालय भवनको उद्घाटन गर्दै विष्टले राजनीति नागरिककाे समृद्धिका लागि भएको भन्दै दलहरूले नागरिकका आधारभूत समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयाे । उहाँले नागरिकका गरिबी र बेराजगारीका समस्या न्यूनीकरणका लागि राजनीतिक दलहरूले एकले अर्कालाई आरोप लगाएरमात्रै उन्मुक्ति नहुने बताउनुभयाे । विद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुने उहाँकाे भनाइ छ ।

आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ७० लाख, सङ्घीय ससर्त अनुदान ७५ लाख र आर्थिक वर्ष २०७८/०७९ मा सङ्घीय ससर्त अनुदान ६६ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १८ लाख र विद्यालयको १६ लाख ५० हजार गरेर दुई करोड ४५ लाख ५० हजार रुपैयाँमा १२ कोठे भवन तथा सभा हल निर्माण गरिएको विद्यालयका प्रध्यानाध्यापक ईश्वरीप्रसाद आचार्यले जानकारी दिनुभयाे ।

कार्यक्रममा सचिव विष्टले विद्यालयको हिरक महोत्सवको अवसरमा सबैभन्दा बढी चन्दा प्रदान गर्ने व्यक्तिको शालिकको अनावरण तथा स्मृति कक्षको उद्घाटन गर्नुभएको थियो । मुसिकोट १ पौदी अरेवाका स्व. डालेश्वर भुसालको सम्झनामा विद्यालय प्राङ्गणमा शालिक निर्माण गरिएको हाे । भुसालको परिवारले विद्यालयका लागि १५ लाख पाँच हजार पाँच सय ५५ रुपैयाँ प्रदान गर्नुभएको थियो ।  

त्यस्तै उमानन्द भुसालको नाममा स्मृति कक्ष निर्माण गरिएको छ । उहाँले विद्यालयलाई पाँच लाख एक रुपैयाँ सहयोग गर्नुभएकाे विद्यालय व्यावस्थापन समितिले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया