साउदीले टाढा बनाएको सम्बन्ध कुवेतमा जोडियो

 फागुन ५, २०७९ शुक्रबार १२:१९:५२ | सन्जिता देवकोटा
unn.prixa.net

हेलम्बु – बिन्दा थापालाई लाग्छ, आफू कुवेत नगएको भए श्रीमान् श्रीमतीबीच बढेको दूरी सायदै मेटिन्थ्यो । समयको खेल भनौं या परिस्थितिको मेल रमेश साउदी लागेपछि भौतिक सँगसँगै बढेको श्रीमान् श्रीमतीबीचको मनको दूरी बिन्दा कुवेत गएपछि मेटियो । 

आजकाल हेलम्बु गाउँपालिकाको किउलमा श्रीमान् श्रीमती मिलेर होटल व्यवसाय गरिरहँदा बिन्दाको अनुभवले भन्छ ‘विदेशले छुटाउने मात्र रहेनछ, कहिलेकाहीँ त जोड्दो पनि रहेछ ।’

कुवेत यात्रा तय गर्दाको बाध्यता

हेलम्बु गाउँपालिकाको किउलकी ३६ वर्षीय बिन्दा थापाले आजभन्दा १६ वर्षअघि परदेश रोज्नुको एउटै बिग्रिएको पारिवारिक सम्बन्ध नै थियो । श्रीमान् साउदीमा काम गर्दै थिए । बिन्दा र छोरी घरैमा हुनुहुन्थ्यो । तर परिवारसँग उहाँको सम्बन्ध जमेको थिएन ।

साथ र सहयोग न परदेश गएका श्रीमानको थियो न त घरपरिवारको । मरीमरी काम गर्दा बिहान बेलुकाको खाना त मिल्थ्यो । तर पेट मात्र भरेर बाँचेको जीवन पनि के जीवन । बिन्दाको मन मान्दैन थियो । छटपटी हुन्थ्यो । साथमा बच्चा अनि हातमा एक रुपैयाँ पनि पैसा नहुँदा समस्याहरूले गलाइरहेको थियो ।

वैदेशिक रोजगारीको यात्रा तय गर्न पनि सहज भएन बिन्दालाई । साथमा पैसा थिएन । राहदानी बनाउनका लागि पैसा माग्दा न गाउँघर न त परिवार कसैले पनि सहयोग गरेनन् । 

‘एक जोर लुगा किनिदिउन् त छोरीलाई भन्दा पनि पैसा हुँदैन थियो’ बिन्दा भन्नुहुन्छ ‘एउटै लुगाले महिनौँसम्म छोरीलाई पालेको छु मैले, तर दुःख भयो भनेर आत्तिन नहुने रहेछ ।’

दुःखैदुःखमा डुबेको बिन्दाको जीवनले यसबाट पार पाउने एउटै उपाय परदेश ठान्न थाल्यो ।

त्यस बेला गाउँबाट एकादुई महिला रोजगारीका लागि विदेश गएका थिए । उनीहरूसँग विदेशको बारेमा बुझ्नुभयो । उताको कुरा सुनेपछि त बिन्दाको मनले पनि कुवेत जाने निर्णय गरिसकेको थियो । तर बिन्दाकै शब्दमा भन्दा त्यो बेला गाउँबाट विदेश जानु भनेको मुम्बईको कोठीमा बेचिनु सरह मानिन्थ्यो । 

‘विदेशमा अरबीहरूको बच्चा हुँदैनन् रे अनि नेपालबाट महिलालाई बच्चा पाउनका लागि लैजान्छन् रे भन्ने हल्ला थियो, क्षेत्री बाहुन समुदायबाट विदेश जाने त चलन नै थिएन’ बिन्दा कमाउने जाने निर्णय लिँदाको त्यो क्षण सम्झँदै भन्नुहुन्छ ‘तर गाउँबाट गएका दिदीहरूसँग बुझ्दा घरको काम हो, अरू केही पनि होइन भनेपछि आँट आयो ।’

वैदेशिक रोजगारीको यात्रा तय गर्न पनि सहज भएन बिन्दालाई । साथमा पैसा थिएन । राहदानी बनाउनका लागि पैसा माग्दा न गाउँघर न त परिवार कसैले पनि सहयोग गरेनन् । 

बिन्दा भन्नुहुन्छ, ‘त्यो बेला मलाई पाँच हजार पनि कसैले पत्याएनन्, पासपोर्ट त बनाउन पर्‍यो, के गर्ने अनि जे जे पाइन्छ गाउँमा काम ति कामहरू गरेर मैले पासपोर्ट बनाउनका लागि पैसा जम्मा गरेर अनि बनाएको थिएँ ।’ ती दिन सम्झँदा अहिले पनि बिन्दाको मन गाँठो पर्छ ।

जसोतसो राहदानी बन्यो । कुवेत उड्ने मेसो पनि मिल्यो । तर मन साढे दुई वर्षकी छोरीमा अल्झियो । तर छोरी हेरेर बस्न बिन्दालाई परिस्थितिले दिएन । भोलिको सुन्दर भविष्यको सपना बुन्दै साढे दुई वर्षकी काखे छोरी माइती घरमा छाडेर बिन्दा २००७ सालमा घरेलु श्रमिकका रूपमा कुवेत उड्नुभयो । 

जब जहाजले नेपालको भुईँ छोडेर आकाशमा पुग्यो बिन्दालाई भने जहाजबाटै हामफालौं झैँ  भयो । 

‘अब मैले देश छाडे भन्ने भएपछि त गाह्रो हुने रहेछ’ देश छाड्दाको त्यो दिन सम्झँदै बिन्दा भन्नुहुन्छ ‘कति रोइयो, कति नराम्रो लाग्यो तर के गर्नु बाध्यताले जानै पर्‍यो, जति टाढा उति माया गाढा हुने रहेछ ।’

कुवेतमा काम घरको थियो । खाना बनाउनेदेखि बालबच्चाको रेखदेखसम्म । आफ्नो बच्चा अरूको साथमा छाडेर अरूको बच्चा चाहिँ आफूले हेर्ने काम गर्नुपर्दा बिन्दा भक्कानिनुहुन्थ्यो ।

त्यहाँका बालबच्चाको स्याहार गर्दा आफ्नै छोरीको यादले कयौँ पटक चिच्च्याएर रुनुभयो । ‘नेपाल जाने, नेपाल जाने’ भन्दै रुँदै गर्नुहुन्थ्यो । तर परदेशी भूमिमा आमाको पीडा सुन्ने कसले । त्यसमाथि अरबीको घर । घरमा काम गर्ने मानिसको आँसु मूल्यहीन हुन्थ्यो । 

अरेबिक र अङ्ग्रेजी भाषामा दोहोरो कुराकानी गर्न सक्ने भएपछि त काम गर्न पनि सहज हुन थाल्यो । काम जान्ने भएपछि घरका मानिसले गर्ने गाली र हिंसा पनि कम हुँदै गयो ।

अहिलेजस्तो त्यस बेला हात हातमा मोबाइल थिएन । इन्टरनेटमार्फत अनुहार हेर्न पनि सम्भव होला भन्ने कल्पना पनि गर्नुभएको थियो । बेलाबखत गाउँमा भएको टेलिफोनमा फोन गर्दै हालखबर बुझ्न पाउनु नै ठुलो कुरा थियो ।

‘उता काम गर्न  पनि गाह्रो नै हुने रहेछ, सबैभन्दा गाह्रो त भाषा नबुझ्दा हुने, कहिलेकाहीँ त उनीहरूले एउटा भनेको हुन्छ आफूले अर्को गरिँदो रहेछ, त्यस्तो बेला त कुटाइ पनि खाइयो’ घरेलु श्रमिकका रूपमा काम गर्दा भएको सास्ती सुनाउनुहुन्छ बिन्दा ।

यी सबै हैरानी सहेर काम गर्दा सुरुका दिनमा बिन्दाको हातमा महिनाको १२ हजार रुपैयाँ तलब हातमा पथ्र्यों । 

बिस्तारै भाषा बुझ्न थाल्नुभयो । अरेबिक र अङ्ग्रेजी भाषामा दोहोरो कुराकानी गर्न सक्ने भएपछि त काम गर्न पनि सहज हुन थाल्यो । काम जान्ने भएपछि घरका मानिसले गर्ने गाली र हिंसा पनि कम हुँदै गयो । बिन्दा तीन वर्ष काम गरेर एक लाख ६० हजार रुपैयाँ कमाइ सन् २०१० मा नेपाल फर्कनुभयो । 

‘तीन वर्षमा त्यति पैसा लिएर म त कति खुसी हुँदै घर आएको थिएँ’ प्रफुल्ल मुद्रामा बिन्दा भन्नुहुन्छ ‘तीन वर्षमा एकै पटक आउँदा त छोरी पनि ठुली भइसकेकी रहेछ, गाउँमा बिजुली पनि आएछ, म विदेश जाँदा गाउँमा ढलान गरेका घरहरू बन्न थालेछन् ।’

कुवेतले जोड्यो श्रीमान् श्रीमतीको मन 

बिन्दाले तीन वर्ष कुवेतमा बिताउँदा कम्पनीको काम र घरेलु कामबीचको फरक राम्रोसँग बुझ्नुभयो । घरेलु काममा दुःख हुँदा पनि कानुन अनुसार नै हरेक कुरा सहेर काम गर्नुभयो । बिन्दाको उद्देश्य तीन वर्षपछि कम्पनीको काममा अप्लाई गरेर घरेलु काम छाड्ने थियो । नभन्दै उहाँले आफ्नो योजनालाई साकार पनि पार्नुभयो ।

उहाँले कम्पनीमा काम गर्ने अवसर पाउनुभयो । कम्पनीमा काम गर्ने अवसर पाएपछि घरको कामबाट राजीनामा दिएर उहाँ कम्पनीको काम गर्न थाल्नुभयो । घरमा काम गर्दा ४५ कुवेती दिनार तलब पाउनुहुन्थ्यो । घरको कामबाट कम्पनीको काममा जाँदा १८० दिनार पाउनुभयो ।  

तलब र सेवा सुविधा बढी पाउने भएपछि कम्पनी परिवर्तन गर्नुभयो । त्यसपछि भने बिन्दाले नै रमेशलाई पनि कुवेत लैजान भिसा पठाउनुभयो । 

कुवेतमा काम सँगसँगै साउदीमा रहेका श्रीमानसँग कुराकानी बढ्दै गयो । घरमा छँदा पानी बाराबारको स्थितिमा पुगेको श्रीमान् श्रीमतीको सम्बन्ध सामान्य कुराकानी हुँदै भविष्यको सपना बुन्नेसम्म पुग्यो ।

दुवै जना परदेशी भएपछि दुःखसुख मिल्यो । दुवै जना कमाउने हुँदा विगत बिर्सिएर भविष्यमा यसो गरौं न त भन्दा दुवै जनाको सोच र भावना मिल्यो । बिन्दा भन्नुहुन्छ ‘घरपरिवार समाज र विदेशले हामीलाई केही समयको लागि टाढा बनाएको थियो, तर हामीलाई फेरि यिनै कुराले जोड्यो ।’

श्रीमान् श्रीमतीबीचमा सल्लाह मिल्दै गएपछि बिन्दा रमेश दुवैले एकै देशमा काम गर्ने योजना बनाउन थाल्नुभयो । तर रमेश कार्यरत भएको देश साउदीमा उहाँहरूको योजना सम्भव नहुने देखियो ।

कुवेतमा बिन्दाको काम राम्रो हुँदै गयो । मासिक २२० कुवेती दिनार पाउने कम्पनीबाट कामको अफर पाउनुभयो । तलब र सेवा सुविधा बढी पाउने भएपछि कम्पनी परिवर्तन गर्नुभयो । त्यसपछि भने बिन्दाले नै रमेशलाई पनि कुवेत लैजान भिसा पठाउनुभयो । 

‘मैले नै त्यहाँबाट श्रीमानलाई भिसा पठाउन मिल्थ्यो, भिसा पठाउन मिल्ने भएपछि दुईजना दुईतिर किन बस्नु भन्ने भयो उहाँ साउदीबाट नेपाल जानुभयो अनि कुवेत उड्नुभयो’ बिन्दा भन्नुहुन्छ । 

‘दुई जना ढाटा बस्नुभन्दा सँगै बसेर काम गर्न पाइन्छ भने किन नजाने’ रमेश भन्नुहुन्छ ‘विगत जे भए पनि भविष्य राम्रो बनाउन पर्छ, म त आफ्नो बुढी भएको ठाउँमा खुसी खुसी गएँ नि ।’

साउदीमा पनि गाडी चलाउने काम गर्नुभएका रमेशले सुरुवाती दिनमा कुवेतमा पनि गाडी नै चलाउनुभयो ।  बिस्तारै रमेशले पनि नयाँ रोजगारदाता खोजेर होटलमा काम गर्नुभयो ।

परिवारसहित कुवेतमा बस्दाको खुसी

फोनमा बोल्न समेत नबोल्ने, एक अर्काको हालखबर नै नसोध्ने स्थितिमा पुगिसकेको सम्बन्ध परदेशी भूमिमा एक हुन पाउँदाको दुवै जनामा खुसी अथाह थियो । एक अर्काको साथले केही गर्ने ऊर्जा दिएको थियो । सबै खर्च कटाउँदा पनि दुवै जनाको कमाइबाट मासिक एक लाख रुपैयाँ त चोखो बचत हुन्थ्यो ।

सन् २०१८ मा कुवेतमै छोरो जन्मियो । काम, कमाइ र पारिवारिक सम्बन्ध सबै राम्रो हुँदै गएको थियो । यहीबीचमा हेलम्बु गाउँपालिकाको कार्यालय भएकै ठाउँ किउलमा जग्गा किनेर दुई तले पक्की घर समेत बनाइसक्नुभएको थियो ।

काम सँगसँगै परदेशी भूमिमा छोरो पनि हुर्कँदै थियो । दुवै जनाले समय मिलाएर पालै पालो छोराको पनि रेखदेख गर्ने र काम गर्ने गर्नुहुन्थ्यो । तर खुसी नै खुसीले भरिएको जिन्दगीमा एकाएक कोरोना महामारीले अकल्पनीय परिस्थितिहरूको सामना गर्नुपर्‍यो । 

कोरोनाले रित्तो हात घर फर्कायो

श्रीमान् श्रीमती दुवै जना होटलमा काम गर्नुहुन्थ्यो । संसारभरि फैलिएको कोरोना महामारीको कारण कुवेतमा पनि लकडाउन भयो । लकडाउनको समयमा कुवेतका होटलहरु पूर्ण रूपमा बन्द भए ।

कोरोना महामारी कम होला र काममा फर्किने दिन आउला भन्दै ९ महिना त कोठामै बस्नुभयो । तर कोरोना झन् झन् बढ्दै गयो । कुवेतमा पनि सङ्क्रमित हुने र सङ्क्रमणकै कारण ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गयो ।

महिनौँसम्म तीन जना कोठामै बसेर खाँदा भएको बचत सबै सकियो । खानेकुराको व्यवस्थासमेत गर्न नसक्ने अवस्था आएपछि कतिपय सङ्घसंस्थाले सहयोग गरे त कतिपय साथीभाइसँग ऋण मागेर भए पनि छाक टार्नु पर्ने परिस्थिति आयो । 

खानेकुराको व्यवस्थासमेत गर्न नसक्ने अवस्था आएपछि कतिपय सङ्घसंस्थाले सहयोग गरे त कतिपय साथीभाइसँग ऋण मागेर भए पनि छाक टार्नु पर्ने परिस्थिति आयो । 

कोठैमा बस्दा, आफैँले चिनेका मानिसहरूको प्राण गएको देख्दा मन आत्तिइसकेको थियो । 

‘जे जस्तो भए पनि बरु आफ्नै गाउँमा जाऔँ, त्यत्रो दुःख गरेर घर बनाएको, एक दिन पनि आफ्नो घरमा सुत्न नपाईकन मरिन्छ कि जस्तो लाग्न थाल्यो’ त्यो अत्यासलाग्दो क्षण सम्झँदै बिन्दा भन्नुहुन्छ ‘मरे पनि आफ्नै देशमा गएर मर्ने अब यहाँ नबस्ने भन्ने भएर नै हामी ऋण गरेर टिकट काटेर फर्किएका हौँ ।

त्यस बेला जहाज उडेका थिएनन् । महामारीको कारण नेपालसहित कुवेतले पनि उडानहरू बन्द गरेको थियो । घर फर्कनका लागि दूतावासमा नाम टिपाउन पर्थ्यो । दूतावासले निकालेको सूचीअनुसार पालैपालो घर फर्कन पाइन्थ्यो। थापा दम्पतीले पनि आफ्नो नाम दूतावासमा टिपाउनुभयो र पालो अनुसार आफ्नै पैसाले टिकट काटेर सन् २०२१ मा घर फर्कनुभयो । 

आफ्नै घरमा होटल व्यवसाय

कुवेतबाट घर फर्किएपछि सुरुवातमा बोइलर कुखुरा पाल्नुभयो । सुरुमा राम्रो पनि भयो । तर दोस्रो पटक पनि कोरोनाको कारण नेपालमा लकडाउन भएपछि कुखुरा बिकेन । लगानी उठाउनै गाह्रो भयो । त्यसपछि कसो गर्ने भन्ने मेलो पाउनुभएको थिएन । 

उहाँको घरको तल्लो तलामा भाडामा बस्नेहरू थिए । उनीहरूले होटल व्यवसाय पनि गर्थे । तर खाने बस्ने मानिसहरू आउँदा पनि राम्रो चलाउन सकेनन् भन्ने भान भइरहेको थियो बिन्दालाई । कुवेतमा पनि होटलमै काम गरेकाले उहाँको मनमा भने आफैँ होटल व्यवसाय गरौँ भन्ने लागेको थियो । श्रीमानसँग सल्लाह गर्नुभयो ।

भन्नुहुन्छ ‘अरूको भरमा बाँच्दा दुःख हुने रहेछ, आफ्नो खुट्टामा उभिन थालेपछि सबै कुरा मिल्दै जाने रहेछ, चाहे त्यो सम्बन्ध होस या आर्थिक अवस्था ।’

सुरुमा त रमेश मान्नुभएन । तर बिन्दाले मनाइ छाड्नुभयो । घाँटीमा लगाएको सुनको सिक्री बेच्नुभयो । त्यसमा तीन लाख रुपैयाँ जति ऋण खोज्नुभयो । सबै गरी मिलाएर छ लाख रुपैयाँ लगानी गरी २०७८ मङ्सिरदेखि होटल र लज खोल्नुभयो । 

अहिले खर्च नकटाई हिसाब गर्ने हो भने महिनाको एक लाख रुपैयाँभन्दा बढीको व्यापार हुन्छ । खर्च कटाउँदा पनि ४० देखि ५० हजार रुपैयाँ त महिनामा चोखो नाफा हुन्छ । 

पछाडि फर्किएर हेर्दा कुनै कुरामा पछुतो छैन बिन्दालाई । भन्नुहुन्छ ‘श्रीमानसँग पनि राम्रो थिएन, परिवारले पनि कसैले साथ दिएका थिएनन्, तर कुवेत गएर मैले पनि मेहनत गरेँ, बुढोले पनि गर्नुभयो, अहिले त सबै ठिक छ ।’

श्रीमानसँग मात्र होइन अहिले बिन्दाको पारिवारिक सम्बन्ध पनि राम्रो छ । घर माइती सबैको प्यारी बन्नुभएको छ उहाँ । साथमा यो छैन भन्ने ठाउँ नै छैन । छोरी १९ वर्षकी भइसकिन् ।

छोरीको इच्छा अनुसार नै उनलाई पढ्न जापान पठाउने भन्नुहुन्छ बिन्दा । होटलको काम परिवारका सबै जना मिलेर गर्नुहुन्छ । अलिकति लगानी थपेर होटललाई अझ बढाउने र व्यवस्थित गर्ने उहाँको योजना छ ।

आफूले जीवनमा भोगेका उकाली ओराली सम्झँदा जिन्दगी भनेकै दुःख सुख, मिलन बिछोड रहेछ जस्तो लाग्छ बिन्दालाई । तर सम्बन्ध बलियो बनाउन सबैभन्दा पहिला आफ्नो खुट्टामा उभिन पर्ने रहेछ भन्ने उहाँको अनुभव छ ।

भन्नुहुन्छ ‘अरूको भरमा बाँच्दा दुःख हुने रहेछ, आफ्नो खुट्टामा उभिन थालेपछि सबै कुरा मिल्दै जाने रहेछ, चाहे त्यो सम्बन्ध होस या आर्थिक अवस्था ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • कमल राना मगर

    Feb. 17, 2023, 2:47 p.m.

    बधाई अनि ध्न्याबाद म्याम र उज्यालो ओनलाईन लाई पनि बिशेस धन्याबाद यो हजुर मात्र होइन याहा हजारो को समस्या त्यै नै हो म्याडम मेरो पनि हजुर को जस्तै हो फरक यति हो हजुर महिला म पुरुष आफ्नो खुट्टामा उभिनु अनि मात्र बिबाह गर्नु पर्छ भन्ने सन्देश दिनु भाको छ हजुर ले र अलिकती पैसा कमाए पछि आफ्नै देश मा केइ गर्नु पर्छ र गरे के हुदैन भन्ने उदाहरण हजुर ले दिनु भयो हजुर लाई 32 तोप को सलाम छ म पनि हाल कतार मा छु अब केहि समय पछि फर्केर नेपाल मै केइ गर्ने सोच बनाको छु 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  •  0 Reply

तपाईको प्रतिक्रिया