रामेछापकाे सुकाजाेरका किसान अकबरे खुर्सानीकाे खेतीमा आकर्षित

 फागुन ७, २०७९ आइतबार १७:१९:१ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछाप नगरपालिका ७ सुकाजोरका किसान अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । पानी र मल कम चाहिने, मेहनत पनि अन्य बालीको तुलनामा कम गरे पुग्ने र एक पटक लगाएको बिरुवाबाट अर्को वर्षसम्म पनि उत्तिकै उत्पादन हुने हुँदा सुकाजोरका किसान व्यावसायिकरूपमा अकबरे खेतीमा लागेका हुन् । 

सुरुमा केही अगुवा किसानले मात्रै अकबरे खुर्सानी लगाउन सुरु गरेका थिए । उनीहरूले लगाएको अकबरे खुर्सानी गाउँमै बिक्री भएपछि अरू किसानले पनि लगाउन इच्छा गरेर तालिमको माग गरेअनुसार उनीहरूलाई तालिम दिएको रामेछाप ७ सुकाजोरका वडाध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो । 

गाउँमा उत्पादन भएको लोकल अकबरे खुर्सानी प्रतिकेजी ८० देखि एक सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । स्थानीय चुडाबहादुर कार्कीले अकबरे खुर्सानी खेतीसँगै प्रगतिशील अकबरे खुर्सानी उद्योग नै स्थापना गर्नुभएको हो । उहाँले किसानको उत्पादन खरिद गरेर अकबरे खुर्सानीकाे अचार बनाएर बजारमा बिक्री गर्दै आउनुभएको छ । बजारमा लोेकल अकबरे अचारको माग धेरै रहेको र मागअनुसार पुर्याउन गाह्रो परेको प्रगतिशील अकबरे खुर्सानी उद्योगका सञ्चालक कार्की बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘अकबरे खुर्सानी नियमित खाँदा ग्यास्ट्रिकसमेत निको हुने भएकाले खुर्सानी र यसबाट बनेको अचारको माग धेरै छ ।’ 

खुर्सानी र अचार उत्पादन गर्न सके बिक्री हुँदैन कि भन्ने चिन्ता नभएको सुकाजोरका अर्का किसान कीर्तिबहादुर कार्कीले बताउनुभयो ।

अकबरे खुर्सानीको अचार बिक्री गरेर वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उद्योगका सञ्चालक कार्कीले बताउनुभयो । अकबरे खुर्सानी र अचार पुरानो सदरमुकाम रामेछाप डाँडा, सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र काठमाण्डौका बजारसम्म पुुग्ने गरेको छ । 

सुकाजोरका किसानले यस वर्ष खुर्सानीको १० हजार नयाँ बिरुवा थप्ने योजना बनाएका छन् । अहिले यस क्षेत्रमा १० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी विस्तार भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया