पानी परेपछि ताप्लेजुङका किसान खुसी

 फागुन १०, २०७९ बुधबार १८:३६:११ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा आज बुधवार दिउँसोदेखि पानी परेपछि किसानहरू खुसी भएका छन् । असोजको पहिलो हप्तादेखि पानी नपरेर चिन्तित बनेका किसानहरू पानी परेपछि खुसी भएका हुन् । 

‘बारीमा लगाएका हिउँदे तरकारी सुक्न थालेका थिए, पानी परेपछि अब तरकारी खेती बाँच्ने आशा पलाएकाे छ’, फुङलिङ नगरपालिका ३ केनेमका किसान नेत्रप्रसाद भट्टराईले भन्नुभयाे । पानी परेपछि तरकारीसँगै तोरी, गहुँ बाली पनि सप्रिने उहाँले बताउनुभयाे ।

सुक्खा भएका कारण बारी जोत्नसमेत कठिन भएका बेला पानी परेपछि अब सहज हुने किसानहरू बताउँछन् । पानी परेसँगै ताप्लेजुङको मुख्य नगदेबाली अलैँचीलाई पनि ठूलाे राहत पुगेकाे छ । मैवाखोला गाउँपालिका ३ साघुँका किसान महलमान चोङ्बाङले सुक्न लागेका अलैँची पानी परेपछि सप्रिने आशा पलाएकाे बताउनुभयाे । 

तरकारीको पकेट क्षेत्र मनिएको फुङलिङ नगरपालिका ९ बुङ्कुलुङका किसान भए खुसी भएका छन् । सुक्खा भएका कारण बन्दाकाेभी, लसुन, छ्यापी, काउली, आलुलगायतका तरकारी सुक्न लागेका बेला पानी परेपछि किसान पासाङरिता शेर्पा पनि खुसी हुनुहुन्छ ।

पानी परेपछि हिमाली क्षेत्रका पशुपालक किसानलाई पनि राहत भएकाे छ । हिमाली क्षेत्रमा हिउँ पर्ने समय सकिए पनि पानी परेपछि चरन क्षेत्रमा घाँस छिटो पलाउने भएका कारण अब राहत हुने फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका चुङ्दा शेर्पाले बताउनुभयो । 

ताप्लेजुङमा गएको वर्षभन्दा यस वर्ष हिँउदमा निकै कम पानी परेको छ । जल तथा मौसम विज्ञान ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार अघिल्लो वर्षको पुसदेखि फागुन पहिलो हप्तासम्ममा ७१ दशमलव ५ मिलमिटर वर्षा भएको थियो । तर यस वर्ष त्यही अवधिमा ० दशमलव ७० मिलमिटरमात्रै वर्षा भएको छ । 

कार्यालयका सहायक डेबिट ढकालले यस वर्षको माघ २६ गते र २८ गते क्रमशः ० दशमलव ५ र ० दशमलव २ मिलमिटर वर्षा भएकाे जानकारी दिनुभयाे । यो तथ्याङ्कका आधारमा हिउँदयामको पुस, माघ र फागुनको पहिलो हप्ताभित्र ताप्लेजुङमा अघिल्लो वर्षभन्दा झन्डै १ सय २ प्रतिशत कम पानी परेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया