लाेकतन्त्र रक्षाका लागि साहित्यले पहलकदमी लिई राख्नुपर्छ : पूर्वराष्ट्रपति यादव

 फागुन ११, २०७९ बिहिबार १९:५१:३९ | सुजीत झा
unn.prixa.net

फाइल तस्बिर

धनुषा – पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र रक्षाका लागि साहित्यले निरन्तर पहलकदमी लिई राख्नुपर्ने बताउनुभएको छ । जनकपुरधाममा बिहीवारदेखि सुरु भएको तीन दिवसीय जनकपुर साहित्य महोत्सवको पहिलो दिन प्रमुख अतिथिको रूपमा बाेल्दै उहाँले लोकतन्त्र रक्षाका लागि साहित्यले पहलकदमी लिनुपर्ने बताउनुभएकाे हाे । 

आठ दशक लामो सङ्घर्षपछि ल्याइएको अहिलेको संविधानमाथिको खतरा नटरेको भन्दै पूर्वराष्ट्रपति यादवले सञ्चारकर्मी, साहित्यकार तथा अभियन्ताहरूले यसका रक्षाका लागि निरन्तर आवाज उठाइरहनुपर्ने बताउनुभयो । ‘संविधानमाथि प्रहार गर्ने निरन्तर कुचेष्टा भइरहेको छ’, उहाँले भन्नुभयो, ‘हामीले लामो सङ्घर्षपछि ल्याएको सङ्घीय गणतन्त्रात्मक व्यवस्थासहितको लोकतन्त्र र संविधानमाथि आक्रमण भइरहेको छ । त्यसको रक्षाका लागि तेस्रो पुस्तालाई समेत तयार पार्ने काम गर्नुपर्छ ।’

पछिल्लो समय संविधानको घाँटी निमोठ्ने काम हुँदा नेपाली नागरिकले आवाज उठाएकै कारण संविधानको रक्षा भएको पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।

यादवले साहित्यमाथि चर्चा भइरहँदा यहाँको भाषा तथा संस्कृतिको रक्षाका लागि मात्रै नभई जनकपुरधामको पहिचान रहेको मठमन्दिर तथा पोखरी संरक्षणका लागिसमेत आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वराष्ट्रपति यादवले कुनै बेला अन्नको भण्डार रहेको तराई मधेसका जिल्लाहरूबाट खाद्यान्न भारतसहितका देशमा निर्यात हुँदै आएकोमा अहिले आएर वर्षको तीन खर्ब रुपैयाँको खाद्यान्न आयात हुनु चिन्ताको विषय भएको बताउँदै चुरेको विनाश रोक्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले देशको विकास तथा समृद्धिको यात्रामा राजनीतिक दल संवेदनशील बन्न नसकेको र नागरिकमा राजनीतिक दलप्रति वितृष्णा फैलनु चिन्ताको विषय भएको बताउँदै दलका नेताहरूले आचरण तथा व्यवहारमा सुधार गर्न जरुरी रहेको बताउनुभयो ।

जनकपुरधामको जानकी मन्दिरमा सुरु भएको जनकपुर साहित्य महोत्सवमा विभिन्न क्षेत्रका विद्वान् सहभागी भएर समसामयिक विषयमा संवाद तथा अन्तरसंवाद र बहस गर्ने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुजीत झा

सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया