म्याग्दीमा मगर समुदायले ४१ औँ स्थापना दिवस धुमधामसँग मनाए (फोटो फिचर)

 फागुन १५, २०७९ सोमबार २०:२०:४५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा बसोवास गर्दै आएका मगर समुदायले आज (सोमवार) ४१ औँ स्थापना दिवस मनाएका छन् । ‘सम्पूर्ण मगरहरू एक होऔँ, भाषा, कला र संस्कृतिको संरक्षण गरौँ’ भन्ने नारासहित मगर समुदायले एक समारोहबीच आफ्नो स्थापना दिवस मनाएका हुन् । 

नेपाल मगर सङ्घको ४१ औँ स्थापना दिवसको अवसरमा आफ्नो जातीय भेषभूषामा सजिएका स–साना बालबालिका, किशोरकिशोरी, युवायुवती र वृद्धवृद्धाले लोपोन्मुख सोरठी, सालैजो, यानीमाया, मारुनी, सुनीमाया, ख्यालीभाका लगायतका पुर्ख्याैली गीत गाउँदै र नाच्दै दिवस मनाएका छन् । मगर समुदायले जातीय भेषभूषमा सजिएर सांस्कृतिक र्‍यालीसहित म्याग्दी सदरमुकाम बेनीबजारको परिक्रमा गरेका थिए ।

स्थापना दिवसको अवसर पारेर नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीले संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर स्मृति अन्तरमावि लोकनृत्य प्रतियोगिताको समेत आयोजना गरेको थियो । स्थापना दिवसको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो । मगर समुदायमा रहेको लोपोन्मुख कला, संस्कृतिको संरक्षण तथा पहिचान गर्ने उद्देश्यसहित स्थापना दिवस मनाइएको नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकेश पुन मगरले बताउनुभयो । 

स्थापना दिवसमा सदमुकाम बेनीमा मगर जातिको पहिचान झल्कने जातीय भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहितका कार्यक्रमहरू पनि भएकाे थियाे । जनजाति र त्यसमा पनि मगर समुदायको बाहुल्यता भएको म्याग्दीमा स्थापना दिवसको अवसरमा अन्य जातजातिलाई पनि बोलाएर एकआपसमा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रमसमेत गरिएको मगर सङ्घ म्याग्दीले जनाएको छ । 

भेषभूषा र झाँकीसहितको र्‍यालीमा मगर समुदायले आफ्नो हस्तकलाका सामानहरू प्रदर्शन गर्नुका साथै कलाकौशल पनि देखाएका थिए । एक नगरपालिका, पाँच वटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीको धेरैजसाे ठाउँमा मगर समुदायको बाहुल्यता रहेको छ । म्याग्दीमा कुल जनसङ्ख्याको झन्डै ४० प्रतिशतको हाराहारीमा मगर समुदाय बस्दै आइरहेका छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया