कैलाली : राष्ट्रपति रनिङ शिल्डको उपाधि धनगढी उपमहानगरपालिकालाई

 फागुन १७, २०७९ बुधबार २०:२४:२७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – १३ औँ कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता धनगढी रङ्गशालामा सम्पन्न भएको हो । 

कैलालीका १३ वटै पालिकाका झन्डै १ हजार जनाभन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका पहिलो भएको छ । धनगढीले १६ स्वर्ण, ५ रजत र ५ कास्यसहित २६ पदक जितेको छ । घोडाघोडी नगरपालिका दोस्रो भएको छ । घोडाघोडीले १६ स्वर्ण, ४ रजत र ११ कास्यसहित ३१ पदक जितेको छ । प्रतियोगितामा गोदावरी नगरपालिका तेस्रो भयो । गोदावरीले ८ स्वर्ण, ८ रजत र १० कास्यसहित २६ पदक जित्यो । 

प्रतियोगितामा टीकापुर नगरपालिकाले ५ स्वर्ण, ७ रजत र ६ कास्यसहित १८ पदक जित्दा लम्कीचुहा नगरपालिकाले २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदक जितेको छ । जानकी गाउँपालिकाले १ स्वर्ण, ४ रजत र ७ कास्यसहित १२ पदक जितेको छ । गौरीगंगा, मोहन्याल, चुरे, कैलारी, बर्दगोरिया, भजनी र जोशीपुरले भने स्वर्ण पदक जित्न नसकेका कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूले सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनेछन् । प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो भएका पालिकालाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया