लुम्बिनीको अहिलेसम्मकाे प्रगति २४ प्रतिशत, कार्यसम्पादन तीव्र बनाउन मुख्यमन्त्रीकाे निर्देशन

 फागुन १७, २०७९ बुधबार १९:१९:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले कार्यसम्पादनलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७९/८० को अहिलेसम्मको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले परिणाम निस्कने गरी कार्यसम्पादन गर्न मन्त्री र कर्मचारी प्रशासनलाई निर्देशन दिनुभएको हो ।

प्रदेश सरकार राजधानीको निर्णय कार्यान्वयनको चरणमा रहेको भन्दै मुख्यमन्त्री गिरीले लुम्बिनीलाई देशकै उत्कृष्ट प्रदेश बनाउनतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । भौतिक विकासका साथै नागरिककाे जीवनस्तर उकास्ने विषयमा पनि केन्द्रित हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘नागरिकले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रित हुनुपर्दछ । पूर्वाधारको विकासले मात्रै देश समृद्ध बन्दैन । जबसम्म नागरिककाे जीवनस्तरमा सुधार ल्याउने खालका कार्यक्रम हामी गर्दैनौँ तबसम्म नागरिकले परिवर्तनको महसुस गर्न पाउँदैनन् । यसतर्फ सबै गम्भीर भएर लाग्नुपर्दछ ।’

परम्परागत योजना र कार्यक्रमले नागरिककाे जीवनस्तरमा परिवर्तन नल्याउने भन्दै मुख्यमन्त्री गिरीले परिवर्तीत सन्दर्भमा नवीन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । सरकारले कृषिलाई मुख्य प्राथमिकताको क्षेत्रका रूपमा लिएको भन्दै उहाँले विशेष योजना बनाएर अगाडि बढ्न कृषि मन्त्रालयलाई निर्देशन दिनुभयो । 

‘प्रदेशको मुख्य समृद्धिको आधार कृषि हो । तर कृषिजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्न सकिरहेका छैनौँ, यो दुःखद विषय हो । सम्बन्धित मन्त्रालयले यस विषयमा योजना बनाएर काम गर्नुपर्दछ’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गरेर अगाडि बढ्नुपर्दछ । सरकारले उत्पादित वस्तुको बजारीकरण गर्ने कार्यक्रम अगाडि सार्नुपर्दछ । यस विषयमा मन्त्रालयले विशेष योजना बनाउनुपर्दछ ।’

कृषिसँगै वन सम्पदाको प्रचुर मात्रामा सदुपयोग गर्नुपर्ने मुख्यमन्त्री गिरीको भनाइ थियो । पालिकाकाे सहभागितामा वातावरण नबिग्रने गरी नष्ट भइरहेका वन सम्पदाको सदुपयोग गर्नुपर्ने भन्दै उहाँले यसतर्फ योजना बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो । 

अहिलेसम्मको प्रगति २४ प्रतिशत  

लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको अहिलेसम्म २४ दशमलव ३२ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव दीपकराज नेपालले चालु आर्थिक वर्षको माघ मसान्तसम्म प्रदेश सरकारकाे मन्त्रालयगत खर्च २४ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु खर्च २८ दशमलव ८९ र पुँजीगत खर्च २० दशमलव ९८ 
प्रतिशत रहेको छ । 

समीक्षा कार्यक्रममा मन्त्रालयका सचिवहरंले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया