गुल्मी अस्पतालमा खानेपानी अभाव

 फागुन १९, २०७९ शुक्रबार १८:८:४० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मी अस्पतालमा खानेपानी अभाव भएको छ । सदरमुकाम तम्घासमा रहेकाे जिल्लाकै ठूलो अस्पतालमा खानेपानी अभाव भएपछि समस्या भएको छ ।

रेसुङ्गा नगरपालिका ८ दोबिन्दा खोलाको मूलबाट ल्याउने गरेको मुहानमा सुक्खायाममा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताउनुभयाे । अस्पतालमा पानीको अभाव हुँदा बिरामी र कर्मचारीदेखि ल्याब सञ्चालनमा प्रयोग हुने उपकरणहरू पनि चलाउन समस्या भएकाे उहाँले बताउनुभयाे । आफू अस्पताल विकास समितिको अध्यक्ष भइसकेपछि दीर्घकालीनरूपमा खानेपानीको समस्यालाई समाधान गर्न पहल गरे पनि एक्लो प्रयासले मात्र समस्याको समाधान नभएको उहाँले गुनासो गर्नुभयो । 

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा पानीको समस्याबाट सेवा प्रवाहमा कुनै समस्या नपरोस् भनेर समस्या समाधानका लागि स्रोत व्यवस्थापन गर्न पहल गरिरहेको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनुभयो । उहाँले तत्कालै याे समस्या समाधान गर्न रेसुङ्गा ८ का अध्यक्षलाई निर्देशन दिएको र आफू पनि लागिपरेको बताउनुभयाे ।

कतिपय खानेपानी उपभोक्ता समितिको स्थायी लेखा नम्बर नहुँदा भुक्तानी प्रक्रियामा समस्या हुने भएका कारण पानीको मिटर जडान गर्न थप समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष पाण्डेले बताउनुभयो । जिल्ला सदरमुकाममा रहेका उपभोक्ता समितिहरूसँग आफूले समस्या समाधानका लागि पहल गरे पनि वृहत् खानेपानी उपभोक्ता समितिबाहेक अरू समितिहरू सकारात्मक नभएको उहाँले बताउनुभयाे ।

खानेपानी उपभोक्ता समितिहरूले भने अस्पताललाई खानेपानी उपलब्ध गराउने कुरामा समितिमा कुनै विमति नरहेको भन्दै संस्थाले तोकेको न्यूनतम शुल्क बुझाएर प्रक्रियामा गएमा तत्कालै पानीको मिटर जडान हुने बताएका छन् । गुल्मी अस्पतालमा दैनिक तीन सयदेखि चार सय जना बिरामीले सेवा लिँदै आइरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया