बैंकवालालाई दल्न खोज्दा आफ्नै अनुहारमा कालोमोसो !

 फागुन २१, २०७९ आइतबार १४:५३:५६ | मिलन तिमिल्सिना
unn.prixa.net

आहै... हुर्रे... क्या मज्जा... गज्जब भयो... ए सुन्यौ, गजबै भयो नि !

हैन अस्ति शिवरात्रीको गाँजाले अझै नछोडेको हो कि होलीभन्दा पहिले नै फेरि भाङ खायौ  ? के भो ? किन बुरुकबुरुक उफ्रेको यसरी ?

के को गाँजा र भाङ खानु नि ! कुरो सुन्यौ भने तिमी पनि बुरुकबुरुक उफ्रँदै छमछम नाच्ने छौ ।

अँ हजुरले खुब गीत गाउनुहुन्छ नि, मैले छमछमी नाच्नलाई ।

गीत गाउन खोजेको हैन क्या लाटी, भाषण सुनेको भाषण । मै हुँ भन्ने नेतालाई नचाउन सक्ने व्यवसायीको भाषण । उसको कुरो सुन्दा त अब हाम्रा पनि दिन फिर्ने भए ।

हिजोसम्म बैंकको ऋण कसरी तिर्ने होला, घरखेत लिलामी हुने हो कि भनेर चिन्ता मान्नुहुन्थ्यो । हिजोको आजै अनुहारमा चमक देखिन्छ त । बैंकलाई ऋण तिर्न नसकेर बेहाल हुन लागेको बेला कसरी दिन फिर्ने भए फेरि ?

त्यही त अब बैंकको ऋण तिर्नै पर्दैन रे क्या । २० लाखभन्दा कम ऋण लिएकाहरूको मिनाहा गर्ने रे ।

नचाहिँदो कुरा, बैंकको ऋण भनेको लुटेको धन होला नि तिर्नै नपर्ने गरी मिनाहा हुने । हामीजस्तै अर्को मान्छेले राखेको पैसा हैन र ? हामीले ऋण नतिरे बैंकमा पैसा राख्नेले कसरी फिर्ता पाउँछ ? चाहिने र हुने कुरा गर्नुपर्छ नि !

त्यो त हामीलाई के मतलब । यी यहाँ हेर न बैंकको ऋण मिनाहा हुने भनेर भाषण गरेका, नारा लगाएका । कति हुन् नि यिनका पछाडि मान्छे हेर त ।

सबै हजुरजस्तै ऋण तिर्न पर्दैन भनेर पछि लाग्नेहरू त होलान् नि ! ऋण नि नतिरी सुख पाइन्छ त भन्या ?

यो देशमा के चाहिँ हुँदैन भन न । ल हेर त यहाँ यो मान्छेको भाषण– बैंकवालालाई कालोमोसो दल्ने अनि बैंकको ऋण मिनाहा हुनुपर्ने ।

ल यो त त्यही मान्छे हैन, अस्ति नै ठूला नेताहरूलाई मार्सीको भात खुवाउने ? कहिले यो पार्टी कहिले उ पार्टी भनेर जसकोमा दुनो सोझिन्छ उतै कुदिरहने ? यो मान्छेलाई त म राम्रोसँग चिन्छु । विभिन्न बैंकबाट अर्बाैँ अर्ब ऋण लिएर व्यवसाय गरेका छन् रे । अनि उसले नभने कसले भनोस् त बैंकको ऋण मिनाहा हुनुपर्छ भनेर । यस्ताको कुरा पनि पत्याएर हुन्छ ? 

जोसुकै होस् न, ऋण तिर्नै परेन भने हाइसन्चाे भएन ? अरू हामीलाई के चाहियो ?

हुन त बैंकवालाले पनि अचाक्ली चाहिँ गरेकै हुन् । सुरुमा ८/९ प्रतिशत भनेर ऋण दिन्छन्, तिर्नुपर्ने बेला १६/१७ प्रतिशत पुर्‍याउँछन् । ब्याजदर चाहिँ घटाउनैपर्छ ।

आ अब के को ब्याजदर घटाउने कुरा । तिर्नै नपरेपछि आनन्दै । पैसा तिर भन्ने बैंकवालालाई च्याप्प समातेर कालोमोसो दल्ने अनि पैसै नतिर्ने । 

खै के हो के तपाईँका कुरा पनि ।

ल ल अहिले सुतौँ । भोलि कालोमोसो दल्न जानुपर्छ । उ त्यहाँ सिरानमाथि मैले ठिक्क पारेर राखेको छु मोसो । भोलि बिहानै उठेर दुवै जना कालोमोसो बोकेर हिँड्नुपर्छ । 
.........................

ऋण तिर्न नपरे त क्या काइदा हुन्थ्यो । व्यवसाय गर्छु भनेर बैंकबाट लिएको ऋण यताउता गरेर सकिहाल्यो । न व्यवसाय सुरु गर्न पाइयो, न कमाइ भयो । अब त्यतिका पैसा कहाँबाट ल्याएर तिर्ने ? बैंकवालाले ताकेता गरेर हैरान पारेको छ । पैसा मागेर हैरान पार्ने बैंकवालालाई च्याप्प समातेर कालोमोसो दल्न पाइयो भने त क्या मज्जा हुन्थ्यो । अनि बैंकवाला पनि डराउँथ्यो, ऋण पनि मिनाहा । लिएको ऋण तिर्नै पर्दैन भन्ने आइडिया फुराउने मान्छेलाई एक पटक भेट्नुपर्‍याे ।

ए हजुर नमस्कार । म पनि हजुरजस्तै ऋणी ।

नमस्कार नमस्कार, मजस्तो ठूलो त के नापेर हुन्थ्यौ नि ! सानोतिनो चाहिँ होलाउ । ल ल मेरो पछि लाग, तिम्रो पनि कल्याण हुन्छ ।

अहिले चाहिँ कहाँ जान जाने हो र हजुर ?

सुनेका छैनौ र मेरो भाषण ? कालोमोसो दल्न जाने । बैंकवालालाई च्याप्प समाउने, अनुहारभरि कालोमोसो दल्ने ।

यति गरेपछि ऋण तिर्नुपर्दैन हो हजुर ?

हो हो हिँड न खुरुक्क ।

ल ल उ त्यहाँ रैछ बैंकवाला ।

समात् समात् ।

ल जा... भेटिस् हैन कालोमोसो ।

ल ल भाग्न लाग्यो समात् समात्...। 

ल जा... अनुहारभरि दल्नुपर्छ है नचिनिने गरी ।

खै खै... ल जा त तेरो अनुहार ।
..................

लौन ए बुढा किन मेरो अनुहार चिथोरेको ? मार्न आँट्यौ कि क्या हो ?

आइया... तिमीले चाहिँ के गरेको नि मेरा नाक नै भाँचौँला झैँ गरी ।

लौन के भयो, खै बत्ति बाल त... ।

हाहा... लौन राति नै होली मनाएछौ त तिमीले...। दलिसकेपछि रातै दल्नुपर्थ्याे नि, किन कालो धसेको ?

अँ हजुरले चाहिँ आफ्नो अनुहार हेर्नुभएको छ नि ! ठ्याक्कै ढेडुजस्तो देखिनुभएको छ ।

खै खै ऐना... लौन नि हो पो रैछ । तिमी ढेडुनीजस्ती, म ढेडुजस्तो !

खुब हिजो सुत्ने बेला बैंकवालालाई कालोमोसो दल्ने भनेका थियौ नि, आफ्नै अनुहार बिरूप बनेछ । अरुले खाइ नखाइ जम्मा परेको पैसा बैंकबाट लिएर तिर्नु पर्दैन भन्नेजस्तो नचाहिने कुरा गरेपछि यस्तै त हो नि ! हेर त, रातो रङको होली खेल्ने बेला आफ्नै अनुहारमा कालोमोसो !

अन्तिम अपडेट: चैत १६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Aryan Neupane

    March 7, 2023, 5:24 p.m.

    धेरै राम्रो कार्टुन खाएपछि आज नभए भोलि तिर्नै पर्छ । नतिरे पछि लास्टमा मर्ने भनेको जनता नै हो समयमै किस्ता तिरि बुद्धिमानि बनौ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया