सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्याे

 फागुन २२, २०७९ सोमबार १७:४०:५४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालकाे मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन बढ्न थालेको हो । 

फागुनदेखि सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो ।

अहिले दैनिक सय जनाकाे हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेका सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले जनाएको छ । हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान सङ्ख्या बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

पछिल्लो एक हप्तायता दैनिक २० वटासम्म उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । लुक्ला भित्रिने पर्यटकको चाप धेरै रहेकाे र फर्कनको सङ्ख्या कम रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले विमानको चाप बढेको छ, यात्रुकाे चाप पनि धेरै छ । खुम्बु भित्रिने ८० प्रतिशत बढी विदेशी नागरिक छन्, नेपाली कम छन् ।’

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने जोरसल्ले प्रवेशद्वारमा पर्यटकको बारेमा जानकारी अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको छ ।

ट्रेकिङ मौसम सुरु भएसँगै जिल्लाका विभिन्न भागका पर्यटन व्यवसायी लुक्ला पुगेका छन् । केही दिनअघि मौसममा खराबी आएको भए पनि पुनः मौसममा सुधार आएकाले व्यवसायी खुसी भएका छन् । ट्रेकिङ मौसम सुरुसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचे लगायतका ठाउँमा रहेका होटलमा पनि चहलपहल सुरु भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया